नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा सोमबार कब्जा गरेको छ।
नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको उक्त जग्गा कब्जा गरेको हो। चाँगुनारायण नपा २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ।
परिषद्ले जग्गामा नेकपाको झण्डा गाडेर कब्जा गरेको बताएको हो। नेकपाको झण्डासँगै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन। अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत गाडिएको छ।
ब्यानरसँगै जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्तिसमेत टाँसिएको छ।
उक्त प्रेस विज्ञप्तिमा उक्त जग्गा कब्जा गरिएको उल्लेख गरिएको छ। कब्जा गरिएको उक्त जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिइएको छ।
परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरसम्म पुगेर पत्र दिएका थिए। जग्गाधनी चन्द्रमायाका श्रीमान् पुण्यराम सुवालले सोमबार दिउँसो दुई जना आएर पत्र दिएको जानकारी दिए।
नेकपाले दिएको खामबन्दी पत्रमा जग्गा कब्जा गरिएको प्रेस विज्ञप्ति रहेको थियो।
उक्त पत्र हात लागेको केही घन्टापछि फोन गरेर प्रहरीकहाँ नजान धम्की दिएको पुण्यराम बताए।
‘दुई जना आएर खामबन्दी गरेको पत्र दिएर गएको केही घन्टापछि फोन गरेर ‘प्रहरीकहाँ नजानू, गए राम्रो हुन्न। सजायको हकदार आफैं हुन्छ’ भनेर धम्की दिए’, उनले भने।
उनका अनुसार जग्गासम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्था छ। सोहीअनुसार आफूहरू चुप लागेको बसेको उनले सुनाए।








