खोटाङको केपिलासगढी गाउँपालिका ६ राम्चे भीरमा मंगलबार सुख्खा पहिरोसंगै खसेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ । पहिरोले पुरीएर १ जना घाइते भएका छन् ।
बिहान साढे ८ बजे मिलमा जाने क्रममा उक्त स्थानमा पुग्दा अचानक माथिबाट सुख्खा पहिरो खस्दा स्थानीय ६० वर्षीय चन्द्र बिकको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरोमा परि २५ वर्षीय मनकुमार तामाङ गम्भीर घाइते भएका छन् ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बाक्सिला गएको टोलीले गम्भीर घाइते तामाङलाई उद्धार गरि उपचारको लागि स्थानीय स्वास्थ्य चौकी दिप्सुङ हुँदै थप उपचारको लागि हेलीकप्टरद्वारा काठमाण्डौ पठाईएको छ ।
मृतकको शव कानूनी प्रकृया पूरा गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।







