चुलोचौकामा सिमित महिलाहरु अहिले सवल र शसक्त बन्दै आएकाछन् । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिलाहरु आर्थिक, सामाजिक रुपले सक्रिय बन्दै आएका हुन् ।

जसले आफ्नै व्यवसाय गरेर आफुमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । त्यस्ता क्षमतावान महिला पनि यहिं छन् निर्भिक र निडर भएर करोडका बिजनेश गरिरहेका छन् । अनि सफलको उचाइमा पुगेका छन् । अहिले हरेक क्षेत्रमा महिलाहरुको उल्लेख्य सहभागिता भइरहेकोछ । शिक्षा, स्वास्थ्य, रोजगारी होस् वा ब्यापार ब्यवसायमा महिलाहरु सफल र उदाहरणीय बनेका थुप्रै घटनाहरु छन् ।

नेपाली समाजले सामाजिक, धार्मिक, साँस्कृतिक तथा परम्पराको आडमा महिलाहरुलाई सीमित दायरामा बाँधेको थियो । घरधन्दा गर्ने, बालबच्चा हुर्काउने लगायतका काम मात्र महिलाले गर्ने हो भन्ने सोँचमा आएको परिर्वतनले यतिखेर महिला स्वालम्बि मात्र होइन किर्तीमानी कार्य गर्दै आएकाछन् ।

त्यसको ज्वलन्त उदाहरण बनेका छन् बाँकेका प्रभावशाली महिलाहरु । पछिल्लो समय बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ । यतिमात्र होइन उनीहरुको कामको खुलेर प्रशंसा समेत गर्न थालिएकोछ । घरधन्दा सम्हाल्दै यी महिलाहरु करोडौंका कारोबार गर्दै आएकाछन् । ठुलठुला होटेल, व्यापार, व्यवसाय उनीहरु एक्लैले धानीरहेका छन् ।
आर्थिक सक्षमताको बाटोमा अग्रसर यी महिलाहरु चुलोचौकाको सिमित दायरालाई फराकिलो बनाउदै अघि बढेकाछन् ।

घरेलु साना उद्योग हुन् वा ठूला ब्यवसायमा यहाँका महिलाहरु अब्बल बन्दैछन् । अचार उत्पादन, खेलौना, कुसन निर्माण, सीलाईकटाई लगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि लाग्न सकिन्छ भन्ने सन्देश यी महिलाहरुबाट पाउन सकिन्छ ।

जसका कारण सानै व्यवसायबाट करोडौंको कारोबार गर्ने महिलाको सूचिमा समेत महिलाहरुको नाम थपिदै आएको छ । महिला उद्यमी संघ बाँकेमा आवद्ध ३ दर्जन बढि महिलाहरुले पनि लाखौदेखी करोडौंको कारोबार गरीरहेका छन् । संघले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुलाई विभिन्न सीपमुलक तालीम दिदंै आएकोले ग्रामीण क्षेत्रका महिलाहरु पनि उद्यमी बन्नतर्फ अग्रसर रहेको महिला उद्यमी संघका अध्यक्ष शुशिला गौतम बताउँछिन् । संघ स्थापना भएको १५ वर्ष पुगेको छ । यो अवधिमा सफल उद्यमी महिलाहरुको संख्या दिनानुदिन थपिदै गएकोछ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार, नेपालगन्जमा करीब ५ हजारको संख्यामा उद्योगी व्यवसायी छन् । त्यसमध्ये १ सय बढि उद्योग महिलाहरुले नै एक्लैले सञ्चालन गरिरहेकाछन् । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, नेपालगन्जमा लाखौंदेखी करोडको कारोबार गर्ने महिलाको संख्या १ सय बढि छ । त्यसमध्ये करोडको कारोबार गर्ने महिला आधा दर्जन रहेकोछन् ।

बाँके जिल्लामा करोडौको कारोबार गर्ने महिला कति छन् भन्ने यकिन तत्थ्यांक नभएपनि २ दर्जन बढि रहेको अनुमान छ । बाँकेमा लाखौंदेखी करोडको कारोबार गर्दै नेतृत्व तहमा समेत सक्रिय रहेका केहि प्रभावशाली व्यवसायी महिलाहरुबाट अरुले पनि पाठ सिक्न सकिन्छ ।

दिला शाह
सामान्य परिवारमा हुर्किएकी दिला शाह एक सफल उद्यमीको रुपमा परिचित छन् । २०६५ सालदेखी व्यवसाय सुरु गरेकी शाह हाल नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको गणपति प्लाष्टिक इन्डष्ट्रिज कम्पनीकी प्रबन्धक हुन् । उनको उद्योगबाट उत्पादित सामाग्री साविकका मध्य र सुदूरपश्चिमका अधिकांश जिल्लामा जाने गरेको छ । ग्रामीण क्षेत्रका मानिसहरुले कम मुल्यमा सामाग्री खरीद गर्दै आएको देखेपछि उनीहरुलाई गुणस्तरीय सामाग्री उपलव्ध गराउन यो व्यवसाय सुरु गरेको उनी बताउछिन् ।

शाहले सञ्चालन गरेको कम्पनीमा हालसम्म १३ करोड लगानी भइसकेको छ । गणपति प्लाष्टिक इन्डष्ट्रिजको हाल चालु पूँजी ५ करोड बढि रहेको छ । उद्योगमा ३ दर्जन बढिले रोजगारी समेत पाएका छन् । शाह साहित्यमा समेत कलम चलाउछिन् । यसका साथसाथै उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छिन् ।

पहाडी भेगका मानिसहरुले कमसल दानाबाट बनेका प्लास्टिकका सामानहरु धेरै प्रयोग गर्ने तर, त्यस्ता कमसल सामानले मानव जीवनमा असर पार्ने भएकोले स्पेसल दानाबाट गुणस्तरीय सामाग्री उत्पादन गरिरहेको उनी बताउँछिन् । ग्रामीण क्षेत्रमा यहाँ उत्पादित सामाग्री लोकप्रिय छ ।

दिलासँगै उनका श्रीमान दिनेश चन्द ब्यापारी हुन् । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका हार्डवयर ब्यापारी दिलाका श्रीमान् रुकुम पश्चिमको आठविसकोट उद्योग वाणिज्य संघको अध्यक्ष पनि हुन् । यस्तै रुकुम पश्चिममा रहेको बालकल्याण उच्च माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

ब्यापार व्यवसायसँगै शाह र चन्द दुवै समाजसेवा पनि उत्तिकै सक्रिय छन् । शिक्षाले मानिसमा जागरण ल्याउने भएकाले विभिन्न जनचेतनामुलक कार्यसमेत गर्दै आएका छन् ।

सावित्रा वस्नेत
नेपालगन्जकी सावित्रा बस्नेत करोडको कारोवार गर्ने महिला व्यवसायी मध्यकी एक हुन् । सावित्राको दैनिकि विहान कलेज र दिउँसो उद्योगमा बित्ने गरेको छ । महेन्द्र बहुमुखी क्याम्पसको उपप्राध्यापक समेत रहेकी सावित्राका श्रीमान अशोक बस्नेत क्याम्पसमा म्यानेज्मेन्ट शाखा हेर्ने गर्छन् ।

व्यवसायमा श्रीमानले व्यवस्थापकिय काममा सघाउने गरेको उनी बताउछिन् । श्रीमानको साथ र सहयोगका कारण व्यवसाय सञ्चालनमा अव्वल देखिनुका साथै नेतृत्व तहमा समेत सक्रिय रहन सहज भएको उनको बुझाई छ । उनले सञ्चालन गरेको उद्योगबाट धारा, टुटि लगायतका सामाग्री उत्पादन भइरहेको छ । व्यापारको कार्यक्षेत्र कर्णाली प्रदेश, सुदूरपश्चिम मात्र नभइ काठमाण्डौंमा समेत व्यवसायलाई फैलाउन सफल भएकीछन् । उनको उद्योगले २ करोड बढिको कारोबार गरिरहेको छ ।

२०६२ सालमा कत्था उद्योग सञ्चालन गरेकी सावित्राले २०६८ सालदेखी खानेपानीका लागी आवश्यक भल्व, धारा, टुटिहरु उत्पादन निरन्तर गरिरहेकीछन् । महिला उद्यमीहरुको नेतृत्व तहमा समेत सक्रिय सावित्रा महिला उद्यमी संघ बाँकेकी महासचिव समेत हुन् ।

मीना गौडेल
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–८, स्थित आधुनिक झ्याल ढोका उद्योग तथा मनकामना सिमेन्ट उद्योगकी सञ्चालक मीना गौडेल पनि करोडको कारोबार गर्ने महिला व्यवसायी हुन् ।

कठिन संर्घष गर्दै व्यवसाय सञ्चालन गरिरहेकी गौडेल पनि बाँकेको प्रभावशाली महिला व्यवसायी मध्येकी एक हुन् । सुरुवातमा श्रीमान–श्रीमतीले संयुक्त रुपमा सञ्चालन गरिरहेको व्यवसाय श्रीमानको मृत्युपछि एक्लैले सम्हाल्नुप¥यो । उद्योग व्यवसायमा श्रीमानको साथ पाएरै व्यवसायमा हात हालेकी मीनाले अहिले करोडौको व्यवसाय एक्लै धानिरहेकी छन् ।

श्रीमानको साथ छुटेपनि उनले निरन्तर एक्लै करोडको कारोबार गरिरहेकी छन् । उनका एक छोरा र एक छोरी छन् । अहिले उनको उद्योगमा सय बढिले रोजगारी समेत पाएका छन् । यससंगै उनी राजनीतिमा पनि सक्रिय छिन् ।

दुर्गा कंडेल
दुर्गा नेपालगन्जको न्यूरोडमा रहेको न्यू होटेल ¥याडिसनको सञ्चालक हुन् । दुर्गा बाँकेको करोड ब्यापार गर्ने महिला मध्ये एक हुन् । केहि वर्ष अघिदेखी मात्रै होटेल व्यवसाय सञ्चालन गरिरहेकी उनी पनि नेतृत्व तहमा समेत छिन् । होटेल व्यवसायी संघ बाँकेको महिला सदस्य रहेकी दुर्गाले सञ्चालन गरेको होटेलले पनि एक करोडको कारोबार गरिरहेको छ । यो होटेल उनले एक्लैले सञ्चालन गरेकी हुन् । उनले होटेलसंगै कटेज पनि सञ्चालन गरेकी छिन् ।

उनका श्रीमान नविनकुमार वम सुर्खेतमा ठेक्कापट्टाको काम गर्छन् । आफ्नै कमाईमा रमाउने चाहना भएकाले एक्लै व्यवसाय सुरु गरेको र व्यवसायमा सफल बन्दै गएको उनको अनुभव छ । बुवाले दिएको जग्गा बेचेर उनले नेपालगन्जमा होटेल व्यवसायको सुरुवात गरेकी हुन् । ३ छोराछोरीको साथमा सुर्खेतबाट नेपालगन्ज आएकी उनले अहिले यहि व्यवसाय मार्फत नेपालगन्जको सफल मिहेनेती होटेल व्यवसायीको पहिचान बनाएकीछन् ।

मीना ढकाल
ढकाल पनि नेपालगन्जमा करोडको व्यापार गर्ने व्यवसायी महिला हुन् । धम्बोझीमा रहेको म्याक्सवेल प्रिन्र्टस् प्रालीको सञ्चालक हुन् । उनले म्याक्सवेलमा प्रवन्ध निर्देशकका रुपमा काम गर्दै आएकीछन् । उनको पनि यो व्यवसायले करोड बढिको कारोबार गर्दै आएको छ । २०६८ सालमा प्राली स्थापना भएदेखी नै उनी यसैमा सक्रिय रुपमा काम गर्दै आएको बताउँछिन् ।

नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय सदस्य समेत रहेकी ढकाल साहित्य र समाजसेवामा पनि सक्रियछिन् । लायन्स क्लब ३२५ वि २ ईनोभेटिभको प्रथम उपाध्यक्ष समेत रहेकी उनी २०१९÷२० को अध्यक्ष बन्ने तयारीमा छिन् ।

साहित्य क्षेत्रमा क्रियाशिल बार्दली फाउण्डेसन लगायत विभिन्न सामाजिक संघसंस्थामा पनि उनको आवद्धता छ । उनका श्रीमान मुकुट ढकाल पनि व्यवसायी नै हुन् । श्रीमान–श्रीमतिले संयुक्त रुपमा यो म्याक्सवेल प्रिन्र्टस् प्रालीलाई निरन्तरता दिइरहेका छन् । उनीहरु २ दशकदेखी यस क्षेत्रमा सक्रिय छन् ।

कस्मीरा खातुन कालीमीया
खातुन पनि नेपालगन्जमा करोडको कारोबार गर्ने महिलाको सूचीमा पर्छिन् । मुस्लीम समुदायबाट विभिन्न चुनौतिको सामना गर्दै उनी नेपालगन्जको अब्वल महिला उद्यमीका रुपमा परिचित छिन् । नेपालगन्ज उपमहानगपालिका–२ घरबारी टोलमा उनको लुम्बिनी गार्मेन्ट सञ्चालनमा छ । उनले व्यवसाय सञ्चालन गरेको छोटो समयमै ठुलो उपलब्धी हात पारिन् । जसले गर्दा बाँकेको करोड कारोबार गर्ने सफल महिला व्यवसायीका रुपमा परिचित बन्न पुगिन् ।

मुस्लिम समुदायबाट नेपालगन्जमा करोडको कारोबार गर्ने महिला उद्यमीका रुपमा उनको नाम पहिलो नम्बरमा नै आउने गरेको छ । कालिमियाँका नामले परिचित खातुनले २०६८ सालबाट व्यवसाय सुरु गरेकी हुन् । उनले सीलाईकटाइबाट व्यवसाय बढाउदै गार्मेन्टमा परिणत गरिन् । गतवर्ष बिजुली सर्ट हुँदा भएको आगलालीले गार्मेन्टमा ठूलो क्षति पुग्यो । व्यवसाय सुरु गरेको ३ वर्षमा ७ करोडको कारोबार गरेकी खातुनले गार्मेन्टमा दर्जनौलाई रोजगारी समेत दिएकीछन् ।

बाँकेमा करोडौको कारोबार सञ्चालन गरिरहेका अन्य महिलाहरु पनि छन् । होटेल तिरुपति सञ्चालक उमा ग्राण्डन, व्यवसायी रचना श्रेष्ठ, तारा रोकाय, मन्दिरा पाण्डे, रेवती सिंह लगायतका महिलाले लाखौदेखी करोडसम्मका व्यवसाय सञ्चालन गर्दै नेतृत्व तहमा समेत सक्रिय छन् । उनीहरुले सञ्चालन गरेका व्यवसायको छुट्टै प्रभाव छ । व्यापार, व्यवसाय, उद्योगमा मात्र होइन, शिक्षा, स्वास्थ क्षेत्रमा समेत उस्तै प्रभावशाली महिलाहरुले पकड बनाउदै गएका छन् । आफ्नो काममा उनीहरु अब्वल सावित हुंदै गएका छन् ।

बाँकेकै शिक्षा क्षेत्रमा हेर्ने हो भने शशी स्वाँर, किरण आचार्य लगायतका महिलाहरु अग्रपंक्तिमा देखिन्छन् । राजनीतिको कुरा गर्ने हो भने सवैभन्दा पहिला मुस्लीम नेतृ मोहम्मदी सिद्धकी, सांसद सर्वतआरा खातुन, प्रदेश ५ सभा सदस्य नमुना केसी, नेतृ लगायत जिल्लाका प्रभावशाली राजनीतिकर्मी महिलाहरुको नाम आउँछ ।

त्यस्तै, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपाका नेता, विजया धिताल, शान्ति ढकाल लगायतका नेतृहरुको नाम पनि अग्रपंक्तिमा नै आउछ । यसका साथसाथै स्थानीय तहमा समेत बलियो पकड भएका प्रभावशाली महिलाहरु बाँके जिल्लामा छन् ।

नेपालगन्ज उपमहानगरपालीकाका उपमेयर उमा थापा मगर, कोहलपुर नगरपालिकाकी उपमेर सञ्जु कुमारी थारु, खजुरा गाँउपालीकाका उपमेयर एकमाया विक लगायत अन्य पालीकाका उपमेयरहरु पनि प्रभावशाली महिलाहरु हुन् । हरेक क्षेत्रमा महिलाहरु शसक्त वन्दै गएका छन् ।

setokhari

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार