मानव स्वास्थ्यलाई असर गर्ने प्रतिबन्धित भारतीय खाने तेलको आयात अझै रोकिएकोछैन । प्रतिबन्धित भारतीय तेल नेपाली बजारमा खुलआम बिक्रि भइरहेकोछ ।
अखाद्य भारतीय तेललाई सरकाले गतवर्षदेखी आयात तथा विक्रि वितरणमा प्रतिबन्ध लगाएको थियो । तर, नेपालगन्ज भन्सार भएर सहजै भित्रिने अखाद्य भारतीय खानेतेलको नेपालगन्ज बजारमा गैरकानूनीरुपमा विक्री भइरहेकोछ ।
ब्राण्ड, धानको भुस, हानिकारक रसाइन र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले सरकारले बेचबिखन र आयतमा प्रतिबन्ध लगाए पनि नेपालगन्ज बजारमा भने खुलेआम भारतीय अखाद्य खानेतेलको बिक्री वितरण भइरहेको पाइएको हो ।
नेपालगन्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल चक्र, तुलसी, जय भारत, सनलाइट, टेक्टर, बैलकोलु, सनमुन, फरट्यून, तड्का लगायतका गुणस्तरहीन खानेतेलहरु खुलेआम नेपाल भित्रिनुका साथै बिक्री भइरहेका छन् ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करहरुले ठूलो मात्रामा अखाद्य मानिएका भारतीय ब्राण्डका तेलहरु नेपाल भित्र्याइरहेका छन् । भने यसको परीक्षण र चेकजाँचमा समेत भन्सार तथा सरोकारवाला निकाय मौन बसेको छ ।
स्थानीय प्रशासनको फितलो अनुगमनका कारण अखाद्य वस्तु बेच्ने व्यापारीको मनोबल उच्च हुँदै गएको पाइएकोछ । मानव स्वास्थ्यसगं खेलवाड गरि भारतबाट ल्याइ अखाद्य तेल बेच्नेलाई कडा कारबाही हुनुपर्ने स्थानीय बताउँछन् ।
तस्करहरुले प्रतिलिटर रु.१० रुपैयाँका दरले सामान बोक्ने (क्यारिङ्ग) व्यक्तिलाई दिन्छन् । ब्यापारिदेखि तस्करहरुले दिनहुँ करिब दुई हजार लिटरसम्म अखाद्य तेल अवैधरुपमा नेपाल भित्रिरहेको रुपैडिहाका ब्यापारी बताउँछन् । यसरी नेपाल भित्रिने अखाद्य खाने तेलका कारण नेपाली उत्पादनलाई असर परेकोछ । साथसाथै मानव स्वास्थ्यसंग खेलावड गरिएकोछ ।
भारतीय बजारमै अखाद्य खाने तेलको बिगबिगी बढेपछि सीमावर्ती रुपैडिहाका नागरिकहरु समेतले त्यसको प्रयोग गर्न छाडिसकेको रुपैडिहाका कपडा ब्यवसायी सुमित चौरसिया बताउँछन् । उनले भने –‘यहाँको तेलमा धेरै मिसावट छ, हामी यहाँको तेल प्रयोग गर्दैनौं, हामी पनि नेपालबाटै ल्याएर खाने तेल खान्छौं, यहाँको तेल ठीक छैन ।’
प्रतिबन्धित भारतीय तेलका कारण नेपाली तेल उद्योग समस्यामा परेका छन् । ‘खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले भारतीय खाने तेल ल्याएर नेपाली बजारमा बिक्री वितरण गर्दा नेपाली उद्योग समस्यामा परेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
सस्तो मुल्यमा पाइने भारतीय तेलका कारण नेपाली तेलको बिक्री घटेको छ । भारतबाट आउने तेल नेपाली तेलको तुलनामा सस्तो भए पनि स्वास्थ्यका लागि हानिकारक छ । सरकारले गतवर्ष नै भारतीय तेल आयातमा प्रतिबन्ध लगाएको थियो । तर, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले आफूहरुसंग चेकजाँचका लागि प्रविधि नभएको बताए । उनले भने –‘हामीलाई चेकजाँचको अधिकार छैन । कसैले घरायसी प्रयोजनका लागि एक-दुई लिटर ल्याएको छ, भने व्यवहारिकरुपमा भन्सार राजस्व नलिएको उनी बताउँछन् ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाली बजारमा भारतीय अखाद्य खानेतेल आयात भइ विक्रि भइरहेको विषय अनुगमन गरेर पूर्णरुपमा रोक लगाउने बताए । उनले भने ‘यो निकै नै गम्भीर विषय हो । मानव स्वास्थ्यमा असर पार्ने खालका गतिविधि हुन नदिन हामी सचेत छौं । यस विषयमा थप अनुसन्धान गरी अखाद्य खानेतेललाई पूर्ण प्रतिबन्ध लगाउँछु ।’







