२१ जेठ, काठमाडौं । सैनिक भर्नामा अनियमितता भएको पुुष्टि भएपछि नेपाली सेनाले भर्ना छनौट चरणमा कडा नीति अख्तियार गरेको छ । भर्नाको पहिलो खुड्किला बाधापार (शारीरिक तन्दुरुस्ती) परीक्षणदेखि नै परीक्षा लिने सैनिक अधिकारीका लागि आन्तरिक नीति लागू गरिएको हो ।

नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार भर्ना छनौट प्रक्रियाको नेतृत्व गर्ने अधिकृतको सुक्ष्म निगरानीका लागि छुट्टै पर्यवेक्षकको पनि टोली खटाइएको छ । सैन्य भर्नामा अधिकृत तहको अधिकारी बस्ने व्यवस्था छ ।

‘भर्ना छनौट प्रक्रियालाई पारदर्शी र न्यायोचित बनाउन परीक्षा लिने अधिकृतको समेत निगरानीका लागि गोप्य सुराकी टोली खटाइएको हो’, स्रोतले भन्यो, ‘यो टोली जंगी अड्डाबाटै परिचालित हुन्छ ।’

सेनाले बाधापार चरणमा परीक्षा लिन जाने सैनिक अधिकारीलाई मोबाइल वा अन्य विद्युतीय सामग्री लान पनि बन्देज लगाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले भर्ना हुन आउने व्यक्तिलाई कसैले प्रलोभन दिँदैमा पास नभइने कुरा जनाउँदै सचेत गराउन पनि थालेको छ ।

‘कतिपय गाउँगाउँबाट भर्ना हुन आएका हुन्छन् । उनीहरुलाई प्रावधान थाहा नहुनसक्छ’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘त्यसैले सामेलका वेला केहीवेर चेतनामुलक प्रशिक्षण दिन थालेका हौं ।’

यसअघि १३ मंसिरमा जनरल समरी सैनिक अदालतले २०७३ र ०७५ सालमा सेनाको विभिन्न पदका लागि भएको भर्नामा अनियमितता भएको ठहर गर्दै १ सय ७३ जनालाई दोषी ठहर गरेर सजाय सुनाएको थियो ।

नेपाली सेनाले अनियमितता प्रकरणसँग जोडिएका १ सय १२ जनालाई बर्खास्त समेत गरेको थियो । यो सैनिक इतिहासकै सबैभन्दा बढी जवान तथा अधिकृत बर्खास्त भएको घटना हो ।

आर्थिक प्रलोभनमा दिएर शारीरिक योग्यता नपुगेका व्यक्तिलाई भर्ना गराइएको अनुसन्धानबाट खुलेपछि आरोपितबाट ३ करोड २२ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल्न पनि फैसला भएको थियो ।

लहरो तान्दा पहरो आएको घटना

कोहलपुरको मध्यपश्चिम तालिम शिक्षालयबाट उत्तीर्ण भएका एक सैनिक जवानको उचाइँ ५ फिट दुई इञ्च कम भएको गाइँगुँइ चलेको थियो । त्यो सूचना जंगी अड्डासम्म आइपुगेपछि ६ जेठमा सहायक रथीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो ।

गठित समितिले देशभर कैफित भएको हुनसक्ने आशंकामा छानविनको दायरालाई फराकिलो बनाएको थियो । त्यसक्रममा सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्म लगायतमा कार्यरत् गरी १ सय ८७ जनामाथि छानविन भएको थियो ।onlinekhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार