चीन सिमाना नजिकैबाट सोमबारदेखि हराइरहेको भारतीय वायु सेनाको एएन-३२ विमान अहिलेसम्म फेला परेको छैन । विमानमा चालक दलका ८ जना र ५ जना सुरक्षाकर्मीसहित १३ जना सवार थिए ।
एएन-३२को कुनै अत्तोपत्तो नलागेपछि वायु सेनाले खोजी कार्यलाई तीव्र बनाएको छ। बुधबार मौसम अनुकूल नहुँदा खोजी कार्य प्रभावित भएको थियो। दिउँसोदेखि मौसम सफा भएपछि खोजी कार्यलाई पुनःसुचारु गरिएको छ।
अरुणाञ्चल प्रदेशबाट एएन-३२ सम्पर्क बाहिर गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। विमान खोजीका लागि इन्डियन एयर फोर्सले विशेष मिसनमा प्रयोग गर्ने सी-130जे र एएन-३२ र एमआई-१७ हेलिकप्टर परिचालन गरेपनि हालसम्म कुनै संकेत मिलेको छैन।
असामको जोरहाट हवाई अड्डाबाट सोमबार १२.२५ बजेएएन-३२ उडेको थियो। १:३० मा अरुणाञ्चल प्रदेशमा एड्भान्स लेन्डिङ गर्ने तालिका थियो। ग्राउण्ड स्टेशनसँगविमानको १ बजेदेखि सम्पर्क टुटेकोसञ्चारमाध्यमहरुले जनाएका छन्।
सेनाले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आईएसआरओ) का स्याटालाईट र नौसेनाको पी८आई विमान खोजी कार्यका लागि परिचालन गरिएको छ। आईएसआरओको कार्टोस्याट र रीस्याट भूउपग्रहले विमान हराएको स्थानको तस्बिरहरु लिइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ। नौसेनाको विमानले इलेक्ट्रो अप्टिकल र इन्फ्रा रेड सेन्सरबाट झोरहाट र मेचुकाको घना जंगलमा खोजी कार्य गरिरहेको छ।
एयर फोर्सका प्रवक्ता अनुपम बनेर्जीले घना जंगलमा विमान खोज्ने कार्य निकै चुनौतीपूर्ण रहेको बताउँदै खोजी कार्यका लागि सम्पूर्ण स्रोत साधान प्रयोग गरिरहेको बताएका छन्।
सन् २००९ को जुनमै यही मोडलको विमान मेचुका नजिकैको गाउँमा दुर्घटना भएको थियो। उक्त विमानमा पनि १३ जना नै सवार थिए। जसमध्ये ७ जना भारतीय वायु सेनाका सदस्य र बाँकी भारतीय आर्मी थिए।
सन् २०१६ को जुलाई २२ मा पनि भारतीय वायु सेनाको एएन-३२ विमान बंगालको खाडीमा उड्ने क्रममा हराएको थियो। २९ जना सवार उक्त विमानमा चालक दल सदस्य ६ जना थिए। त्यसबेला हराएको विमान खोज्न पनडब्बी सहित, १६ वटा पानीजहाज र ६ वटा सैन्यविमान प्रयोग गरिएको थियो। उक्त विमानबारे कुनै जानकारी नपाएपछि सेप्टेम्बर १५ मा मिसन टुंगाइएको थियो। विमानमा सवार सबै २९ जनालाई नै मृत घोषित गरिएको थियो।
भारतीय वायु सेनाले एएन-३२ मोडलको विमान सन् १९८४ देखि प्रयोग गर्दै आएको छ। यो मोडलको विमान उसले महत्वपूर्ण मिसनहरुमा प्रयोग गर्ने गरेको छ। यो विमानमा ४० जनासम्म अटाउन सक्छन्।







