नेकपाभित्र सैद्धान्तिक बहसको सुरुवात भइसकेको छ । सचिवालयकै नेता ईश्वर पोख्रेलले त बहस उत्रिन सुरु गर्नुभएको छ नि ?
बहस अहिले जरुरी भएको भए उहाँले पहिला सचिवालयमा ल्याएर बहसमा जाने निर्णय गराउनु पर्थ्यो । त्यसपछि हामी सबै बहसमा जाने थियौँ ।
यसको मतलब उहाँले सैद्धान्तिक बहसको आवरणमा आफ्नो शक्ति निर्माण गर्ने कोसिस हो भनेर बुझ्ने ?
विधानमा भनिएको छ, विधिसम्मत छलफल गरिने छ । के हो त छलफल गर्ने विधि ? त्यो त पास हुनुपर्यो नि । पार्टीमा छलफल गर्दा आआफ्ना कुरा लिखित रूपमा राख्नुपर्ने हुन्छ । मदनले यसो भन्नुभएको छ, फलानो ठाउँमा यसो छ भनेर हुन्न । दस्तावेजीकरण गर्नुपर्यो । त्यो दस्तावेज अगाडि सार्नुपर्यो । त्यसलाई काउन्टर दिने अर्को आउला । ती दस्तावेजहरू संयुक्त भएनन् भने अलग अलग जान्छन्, त्यसमा छलफल हुन पर्यो । छलफल गर्दा कसरी बोल्ने, कहाँ छलफल गर्ने सबै मापदण्ड तय हुन्छ । सर्तहरू अगाडि बढाइन्छ । आचारसंहित तयार गरेर त्यसलाई पालना गर्नुपर्छ । त्यो अहिले केही पनि भएकै छैन ।
प्रसङ्ग मोड्छु, पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीसँग तपाईंको सम्बन्ध कस्तो छ ? अर्का अध्यक्ष प्रचण्डसँग त राम्रै देखिन्छ ?
सम्बन्ध स्थापित हुँदा नै प्रचण्ड र म दोस्त भयौँ । भनेरै दोस्ती गर्यौँ ।तर कमरेड केपीसँग त्यस्तो दोस्तीको किसिमको सम्बन्ध हुन पाएन । मैले उहाँलाई धेरै धेरै अफ्ट्यारो अवस्थादेखि जानेको, चिनेको छु । २०३३ सालदेखि कमरेड केपी र मसँगै छौँ । कमरेड प्रचण्ड र म २०५५ सालदेखि सँगै छाँै । समयको हिसाबले यति फरक छ । कठिन परिस्थितिमा पार्टी निर्माण गर्दा केपी र म सँगै छौँ । उहाँ जेलमा हुनुहुन्थ्यो बाहिर पार्टी निर्माणमा म लागें । तर पनि प्रचण्डसँग जस्तो दोस्ती भएन ।
तपाईंले विभिन्न कालखण्डमा पार्टीका शीर्ष नेतालाई गुन लगाउनुभयो । त्यो गुन नेताहरूले कत्तिको सम्झिनुहुन्छ ? त्यसको बदलामा तपार्इंले केही पाउनुभयो कि पाउनुभएन ?
म खुल्ला हृदय भएको व्यक्ति हुँ । मैले सबैलाई माया गर्छु । मेरो दिलमा एउटा, मुखमा अर्को र दिमागमा अर्को हुँदैन । मैले जोसँग सम्बन्ध जोड्छु सम्पूर्णरूपले निभाउँछु । जसलाई मैले विश्वास गर्छु शतप्रतिशत विश्वास गर्छु । त्यसकारण कहिले काहीँ मैले धोका पाएको छु । जोसँग मेरो सम्बन्ध हुन्छ, त्यो सम्बन्धमै म खुशी भएको हुन्छु । उसले आफ्नो कर्तव्य पुरा गरोस या नगरोस म मतलव राख्दिन ।
सरकार र पार्टीबीच समन्वय हुँदैछ कि दूरी छ ?
पहिलो कुरा त पार्टी नै छैन । पार्टीका नेताहरू छन् । केन्द्रीय कमिटी छैन, स्थायी कमिटी छ भन्न पाइन्न । केन्द्रीय कमिटी छ, स्थायी कमिटी छ । तर केन्द्रीय कमिटी छ भन्नका निम्ति केन्द्रीय कमिटीको सदस्यको हैसियतको प्रत्येकले जिम्मेवारी पाउनुपर्ने हो, त्यो छैन । अब पार्टी कमिटी छ भनेर कसरी भन्ने ? तर नेताहरू त छन् । सरकारमा गएका छन्, मन्त्री भएका छन् । प्रधानमन्त्री स्वयम् पार्टी अध्यक्ष हुनुहुन्छ । अर्को केन्द्रीय सचिवालय भन्ने छ, त्यसलाई कोर लिडरसिप भनिएको छ । त्यो कोर लिडसिप भएको कमिटी र सरकार बीचमा समन्वय छैन । कोर लिडसिप भएको कमिटीले निर्णय गरेको आधारमा सरकार चल्ने स्थिति भयो भने समन्वय छ भन्न मिल्छ, नत्र छैन । यस्तो कहिल्यै भएन ।
सरकार त हामीले धेरै पटक चलायौँ । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला पार्टीले निर्णय गरको कुरा सरकारले लागू गथ्र्यो । आफ्नो गाउँ आफै बनाउँ र वृद्ध भत्ताको सुरुवात पहिले पार्टीले निर्णय गरेको हो । विकासका कार्यक्रम पार्टीले निर्णय गरेको हो । पार्टी र योजना आयोग मिलेर गरेका निर्णयहरू सरकारमा पठाएर लागू भएका हुन् । त्यसकारण पार्टीले सञ्चालन गरेको हो भन्ने स्थिति हुन्थ्यो, आज त्यस्तो छैन । हाम्रो पार्टी अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुभएको छ, त्यस अर्थमा पार्टी छ, त्यसो भन्नेबाहेक अरू केही छैन ।
रातोपाटी अनलनाइनसँगको कुराकानीको सानो अंश ।







