हामीकहाँ के मान्यता छ भने, पतिभन्दा पत्नीको उमेर कम हुनुपर्छ । हुन्छ पनि यस्तै। अपवादमा केही पत्नी पतिभन्दा बढी उमेरका हुन्छन्। एकै उमेरका पति-पत्नी भने एउटा संयोग मात्र हुनसक्छ।
सामान्यतः के देखिन्छ भने, पति भन्दा पत्नी दुई, तीन वा चार बर्षले कम उमेरकी। किन यस्तो हुनुपर्छ ? यसमा केहि सामाजिक र मनोवैज्ञानिक तर्क छन्। हाम्रो जस्तो पुरुषप्रधान समाजमा घरव्यवहार सम्हाल्ने वा परिवारलाई सही दिशावोध दिने भनेको पतिले हो भन्ने धारणा छ। यही धारणाले गर्दा पति परिपक्क हुनुपर्ने सोचाई छ।
तर, के पनि देखिन्छ भने पति र पत्नीबीचको उमेर अन्तर बढी नै भएको । जस्तो कि, पतिभन्दा पत्नी आठ, १० वा १२ बर्ष कम उमेरकी । यस किसिमको उमेर ग्यापलाई पनि हाम्रो समाजले सजिलै पचाइदिन्छ । जबकी यहि कुरा पुरुषको हकमा लागु हुँदैन । अर्थात पत्नीभन्दा आठ, दश बर्ष कान्छो पति हुनु आश्चर्यको विषय बन्छ । बहसको बिषय बन्छ ।
कति पुरुषले आफुभन्दा निकै कम उमेरकी पत्नी भित्राउने गर्छन् । पहिलो पत्नीसँगको विच्छेद वा अन्य कारण हुनसक्छ, यसमा ।
के फरक पार्छ ?
भनिन्छ, एक राम्रो र स्वस्थ्य सम्बन्धको कडी हो समझदार र परिपक्कता । तर, यसमा उमेर अन्तरले खास असर पार्छ । पति वा पत्नीको सोंच्ने, बुझ्ने क्षमता वा परिपक्कता उनीहरुको उमेर अनुसार पनि निर्धारण हुन्छ । फरक उमेरका पति र पत्नीबीचको सोच्ने शैली, बुझ्ने क्षमता एकैनास हुन्छ भन्ने छैन ।
यस्तो अवस्थामा उनीहरुबीच खास तालमेल हुँदैन । घरायसी, व्यवहारिक कुरामा उनीहरुको सोचाई विपरित हुनपुग्छ । एकजना बढी परिपक्क हुने, अको आलाकाँचो हुने । एकजना अर्कोमाथि बढी हावी हुने जस्ता संभावना अधिक रहन्छ।
पति-पत्नीबीचको उमेर अन्तरले उनीहरुको सम्बन्धमा निश्चयनै असर पार्छ।







