राजनीतिमा युवाले नेतृत्व गर्नुपर्छ भन्ने माग धेरै पहिलेदेखि हुँदै आएको छ । केही मुलुकमा त राजनीति गर्नेहरूको उमेर सीमा नै तोकिनुपर्ने माग पनि गरिएकै छ । तर जर्मनीकी एकजना वृद्धाले यी मागलाई खारेज गरिदिएकी छन् ।

‘जब जाग्नुस्, तब बिहानी’ भनाइलाई चरितार्थ गरिदिएकी छन् । त्यो पनि सय वर्ष उमेरमा । हो, लिजेल हेइजे जर्मनीको एउटा नगर परिषद्मा निर्वाचित भएकी छन् । नगर परिषद् चुनावमा उनी २० जना उम्मेदवार (अधिकांश युवाहरू) लाई उछिन्दै पार्षद बनेकी हुन् । अघिल्लो अप्रिलमा शतक उमेर पार गरेकी लिजेल किर्सहाइम्बोलान्डेन सहरकी पार्षदमा निर्वाचित भएकी हुन् । उक्त सहरको कुल जनसंख्या ८ हजार छ ।

लिजेललाई पौडीमा खुबै सौख छ । अमेरिकी समाचार संस्था ‘सीएनएन’ का अनुसार सन् २०११ मा स्थानीय सरकारले उनीद्वारा सञ्चालित स्विमिङ पुल बन्द गरिदिएपछि त्यसलाई खुलाउन संघर्षरत थिइन् । त्यसयता धेरै नेताको घर र सरकारी कार्यालय चहारिन् । कतै सुनुवाइ नभएपछि आफैं राजनीतिमा आउने निर्णयमा पुगिन् । केही महिनाअघि मात्र स्थानीय परिषदको निर्वाचनमा उम्मेदवार बन्ने चाहना व्यक्त गरेकी उनले चुनावै जितेकी छन् ।

सुरुमा धेरैले उमेरका कारण उनलाई पत्याएका थिएनन् । जब, बालबालिका र युवाहरूका लागि आफ्नो स्विमिङ पुल खुलाउनकै लागि चुनावमा सहभागी हुने घोषणा गरिन्, विस्तारै धेरै मतदाताले उनको दृढ साहस देखेर उनलाई मत दिएको हुन सक्ने भनाइ स्थानीयको छ । लिजेल सहरको एउटा संगठन ‘वियर फुयुर किबो’ (किर्सहाइमबोलान्डेनका लागि हामी) मा आबद्ध छिन् । अब उनी नगरपालिकामा यो संगठनको प्रवक्ताका रूपमा आफ्नो भूमिका निर्वाह गर्ने छिन् । आफ्नो विजयपछि उनले राजनीतिक परिवर्तनका लागि पैरवी गर्न उमेरले नछेक्ने बताइन् ।

‘जनताको पक्षमा राजनीति गर्न उमेरले छेकवार गर्दैन,’ उनले भनिन् । लिजेल ब्रेक्जिटलाई समर्थन गर्दिनन् । उनी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको ठूलो फ्यान हुन् । एकीकृत युरोपमा उनको विश्वास छ । राजनीतिमा भइरहेको परिवर्तनबारे उनी भन्छिन्, ‘राजनीति मानवतावादबाट पुँजीवादतर्फ उन्मुख छ, मेरो विजय मानवतावादका लागि हो ।’

नगर पार्षदका रूपमा आफूले सबैभन्दा पहिले स्विमिङ पुलको मुद्दा उठाउने बताएकी छन् । लिजेलले भनिन्, ‘मेरा लागि पौडी जीवनको मूलमन्त्रजस्तै हो । यसबाहेक मैले आफ्नो सहरमा बालबालिका र किशोरहरूसँग मिलेर एउटा युथ क्लब खोल्न चाहेको छु, जहाँ उनीहरूले संगीत सिक्नुका साथै खेलकुदमा सहभागी भई रमाउन पाउने छन् ।’ लिजेलले पछिल्लो समय सरकारी निकायहरूले बालबालिका तथा युवाहरूलाई प्राथमिकता नदिएकामा चिन्ता व्यक्त गरेकी छन् । उनी भन्छिन्, ‘यहाँ त युवाहरूलाई पछाडि धकेलिएको जस्तो महसुस मैले गरेकी छु ।’

>किर्सहाइम्बोलान्डेनका नगरपिता (मेयर) क्लाउस हार्टम्युलरले सीएनएनलाई भने, ‘आफ्नो पदीय दायित्व निर्वाह गर्न लिजेल मानसिक र शारीरिक रूपमा सक्षम छिन् । गत अप्रिलमा मात्रै सय वर्ष टेकी उनी यसै वर्षको वसन्तमा परिषदो चुनाव लड्ने चाहना व्यक्त गरेकी थिइन् । उनको चाहना पूरा भएको छ । त्यो पनि २० जना उम्मेदवारलाई उछिन्दै उनी निर्वाचित भएकी छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार