काठमाडौं । मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो ।

ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।

स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन् ।

पाँच करोड ८७ लाखमा मैनाचुली र लामा निर्माण कम्पनीले ठेक्का पाएको पुलको चारपटकको म्याद थपिएको थियो । अब एक वर्ष फेरि थपिने पक्का भएको छ ।

निर्माण कम्पनी मैनाचुलीका सञ्चालक मदन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका व्यक्ति मानिन्छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यो पनि, भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इँटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भित्र्याएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण वृद्धि हुने गरेको अध्ययनले देखाएको हो ।

त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार सीमा क्षेत्रका सहरसँगै काठमाडौंसम्म नै भारतको प्रदूषित कणले प्रभाव पारेको छ । प्रदूषित वायुले हिमालसम्म नै असर पार्ने गरेको उनले दाबी गरिन् ।

‘हिउँद र सुख्खा याममा नेपालगन्ज, लुम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिन्छ,’ उनले भनिन्, ‘यसको असर हिमालमा समेत प्रत्यक्ष पर्ने गरेको हाम्रो अध्ययनले देखाएको छ ।’

प्राध्यापक मास्केले तराईमा रहेका कलकारखानासँगै सीमापारबाट आउने प्रदूषित कणले नेपालमा वायु प्रदूषण हुने गरेकाले त्यसतर्फ द्विपक्षीय छलफल गरी समाधान गर्नुपर्ने सुझाव दिएकी छन् । पुसदेखि असारसम्म प्रदूषणको मात्रा अत्यधिक हुने गरेको उनको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=35s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार