काठमाडौं । केही दिन देखि लोकसेवा आयोगले स्थानीय तहका लागि गरिएको विज्ञापन समावेशी नभएको भन्दै विरोध सुरु भएको छ । विशेष गरेर प्रदेश नम्बर २ मा त सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्लासम्म दहन गरिएको छ । यता आयोगले विज्ञापन कानून सम्मत रहेकाले त्यसमा कुनै परिमार्जन नहुने बताएको छ ।
आयोगले स्थानीय तहका लागि हालै प्रकाशित विज्ञापन विधि र कानूनको परिपालना गरि प्रकाशित गरिएकाले त्यसमा कुनै परिमार्जन नहुने स्पष्ट पारेको हो ।
आयोगका प्रवक्ता किरणराज शर्माले संविधान र ऐनले दिएको अधिकार र कानुनी प्रक्रियाको पूर्णपालना गरी विज्ञापन प्रकाशित भएकाले आयोगले कुनै परिमार्जन नगर्ने बताउनुभयो ।
आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि आवेदन माग गरेको थियो । स्थानीय तहमा खुलाएको विज्ञापनमा समावेशी कोटा कम भएको भन्दै विरोध सुरु भएपछि आयोगले त्यसमा कुनै परिमार्जन नहुने भनाइ सार्वजनिक गरेको हो ।
शर्माका अनुसार स्थानीय तहका लागि आयोगले गत बुधवार खुलाएको विज्ञापनमा मंगलबार दिउँसोसम्म २२ हजारभन्दा बढीले आवेदन भरेका छन् ।
यता प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् ।
बैठकमा उनीहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयका राखेका विषय के कति कार्यान्वयन भयो ? जवाफ दिन माग गरे ।
सांसदहरुले संसद् सचिवालयमा कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता ५० प्रतिशत पाउने गरेका तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारीले प्रोत्साहन भत्ता नपाएको एक वर्ष भइसकेको हुँदा तुरुन्त कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनीहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजुको रकम रु २० अर्ब २६ करोड पुगेकामा चिन्ता व्यक्त गर्दै बेरुजु फछ्र्योटमा ध्यान दिन, सप्तरी जिल्लामा गत वर्ष हात्तीको आतङ्कबाट १९ जनाको मृत्यु भएको हुँदा हात्ती आतङ्क रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
यसरी सरकारको ध्यानाकर्षण गराउनुहुने सांसदहरुमा ज्ञानेन्द्रकुमार कार्की, हिरा गुरुङ, सञ्जकुमार गौतम, सुजाता परियार, सीतादेवी यादव, सरिताकुमारी गिरी, विरोध खतिवडा ,ज्ञानकुमारी छन्त्याल, विमला विश्वकर्मा, लालकाजी गुरुङ, लक्ष्मी परियार रहेका थिए ।janaboli
https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=11s







