दोस्रो अन्तराष्ट्रिय खेल खेलेका युवा खेलाडी अभिशेक रिजालको गोलसँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बलियो चाइनिज ताइपेईलाई १–१ को बराबरीमा रोकेको छ।

विश्वकप छनोट २०२२ को तयारीका क्रममा आफूभन्दा ३६ स्थानमाथि रहेको चाइनिज ताइपेईलाई नेपालले उसैको मैदानमा बराबरीमा रोकेको हो। पहिलो हाफमा पछि परेपनि दोस्रो हाफमा नेपालका लागि अभिशेकले बराबरी गोल फर्काएका थिए।

खेलको ३८औं मिनेटमा नेपाल पछि परेको थियो। वाङ चिङमिङले कर्नरबाट उठाएको बललाई चु इनलीले हेडिङ गर्दै यू छुन छ्याङलाई पास मिलाएका थिए। यू छुन छ्याङको हेडरलाई नेपाली रक्षक किरण चेञ्जोङले कलेक्ट गर्न नसकेपछि फर्किएको बललाई छ्याङले नै पोस्टको दिशा दिएका थिए।

खेलको ६९ औं मिनेटमा अभिषेक रिजालले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काए। सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका थिए। जुन राष्ट्रिय टोलीका लागि उनको पहिलो गोल हो।

राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलिरहेका अभिशेकले पहिलो गोल गरेका हुन्। यसअघि गत आइतबार भएको मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।

नेपालले गत आइतबार मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो। नयाँ प्रशिक्षकका रुपमा योहान कालिनले नेपाली टोली सम्हालेपछि यो उनको चौथो खेल हो।

यसअघि कुवेतविरुद्ध भएका दुई मैत्रीपूर्ण खेलमा नेपालले एकमा हार र एकमा बराबरी खेलेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार