कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा आँधीले वितण्डा मच्चाउँदा एकजनाका मृत्यु भएको पुष्टि भएको छ ।
गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । चौधरी सोही समयमा भागदौडका क्रममा टिपरले हानेर मृत्यु भएको जनाइएको छ ।
घाइतेमध्ये सेती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । पद्मा अस्पताल अत्तरियामा १३ र निसर्ग अस्पतालमा ७ जनाको उपचार भइरहेको उनको भनाइ छ ।
बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।
हावाहुरीले कञ्चनपुरका केही क्षेत्रमा पनि क्षति गरेको जनाइएको छ ।







