हिजो साँझ अचानक आएको डरलाग्दो हावाहुरीमा परेर २ जनाको ज्यान गएको छ । कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो ।
क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताउनुभयो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् ।
चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनपुरमा पनि हावाहुरीका कारण २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमूख एसपी दिनेश कुमार आचार्यले बताउनुभयो ।
हावाहुरीले विद्युतको पोल ढलेका छन् भने अधिकांश घरको छाना उडाएको छ । हावाहुरीले टिनको छाना भएको घरमा धेरै क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अहिले हावाहुरी रोकिएको छ । हिजो साँझदेखि अवरुद्ध विद्युत आज विहानबाट सुचारु भएको छ ।
हावाहुरीले कैलाली र कञ्चनपुरमा जनधनको क्षति भएपछि मात्रै मौसम पूर्वानुमान महाशाखाले मौसमी अवस्थाबारे थाहा पायो । हावाहुरीको सम्भावनाबारे जानकारी लिन विहानै मौसम पूर्वानुमान महाशाखामा फोन गर्दा ड्युटीमा रहेका मौसमविद्ले कैलाली कञ्चनपुरमा ठुलै हावाहुरी आयो र ? भनेर प्रश्न गरे । दुईजनाको मृत्यु भएको जवाफ पाएपछि उनले मौसमी अवस्था बारे यसै भन्न नसकिने बताए । ‘हामीले पहिलै अनुमान गर्न सक्दैनौं ।
बादलको विकसित रुप हरेर अनुमान गर्ने हो’ । हिजोसम्म वर्षात्को हुने देखिए पनि हावाहुरीको संकेत नभएको मौसम् पूर्वानुमान महाशाखाले जनाएको छ । बारा र पर्सामा हावाहुरीका कारण ३० जनाको मृत्यु भएपछि मौसम पूर्वानुमान महाशाखा सजग बनेको थियो । माहाशाखाले हावाहुरीको सम्भावना बारे जानकारी गराउँदै सचेत रहन अपिल गथ्र्यो । तर हिजो कैलाली र कञ्चनपुरमा हावाहुरीको सम्भावना बारे कुनै अनुमान भएन र सर्बसाधरणलाई सचेत रहन अपिल पनि गरिएन ।janaboli







