के अमेरिकी कम्पनी गुगलले अमेरिकी सेनालाई सहयोग गरिरहेको छ ? यथार्थमा गुगल अमेरिकी रक्षा मन्त्रालयका साथ मिलेर एउटा यस्तो प्रोजेक्टमा काम गरिरहेको छ, जसले अमेरिकी सेनालाई सटिक ड्रोन आक्रमणलाई मूर्तरूप दिन सहयोग पु-याउन सक्छ ।

‘कहिल्यै खराब नबन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्ने एक कम्पनीका लागि यो द्विविधापूर्ण स्थिति हुन सक्छ । यही कारण हो कि करिब तीन हजार एक सय गुगल कर्मचारीले गुगल सिइओ सुन्दर पिचाईलाई पठाएको एक खुला पत्रमा हस्ताक्षर गरेर उनीसित ‘मेवेन’ प्रोजेक्टबाट कम्पनीलाई अलग गर्न माग गरेका छन् ।

यस पत्रमा कर्मचारीले लेखेका छन्– गुगलले युद्धसित जोडिएका विषयमा भाग लिनु हुँदैन भन्ने हामीलाई लाग्छ । त्यसैले हामी मेवेन प्रोजेक्ट रद्द गरियोस् भन्ने माग गर्दै छौँ । र, लिखित रूपमै एक नीति बनाएर गुगल र उसका कुनै ठेकेदारले युद्धमा उपयोग हुन सक्ने प्रविधि बनाउनेछैनन् भन्ने सार्वजनिक गरियोस् र त्यसलाई कडाइसाथ कार्यान्वयन गरियोस् ।

अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’का अनुसार यस पत्रमा समर्थन जनाउनेहरूमा दर्जनौँ चिफ इन्जिनियर पनि छन् । पत्रिकाले यो पनि लेखेको छ कि गुगलका कर्मचारीले पहिले पनि कम्पनीका शीर्ष व्यवस्थापनसित असन्तुष्टि जनाइसकेका छन् । संसारभर गुगलका करिब ८८ हजार कर्मचारी छन् ।

यस पत्रमा यो पनि उल्लेख गरिएको छ कि अमेरिकी रक्षा मन्त्रालयको प्रोजेक्टमा सहभागिताले कम्पनीको छविमा ‘अपूरणीय क्षति’ पु-याउन सक्छ । किनकि, यस्तो गरेर कम्पनीले आफ्नो नैतिक जिम्मेवारी बेवास्ता गर्नुका साथै आफ्ना उपभोक्ताको भरोसालाई पनि दाउमा लगाइरहेको छ ।

पत्रमा अगाडि लेखिएको छ– गुगलका मूल्य र मान्यता प्रस्ट छ । हाम्रा प्रत्येक उपभोक्ता हामीमाथि ठूलो भरोसा गर्छन् । त्यसैले हामी उनीहरूलाई कहिल्यै जोखिममा पार्न सक्दैनौँ । यथार्थमा यो प्रोजेक्ट गुगलको प्रतिष्ठाका लागि खतरापूर्ण छ र हाम्रो मूल्य र मान्यताविपरीत छ । यो प्रविधिले अमेरिकी सेनालाई सैन्य निगरानीमा सहयोग पु-याउँछ र यसको घातक परिणाम पनि हुन सक्छन् । यो स्वीकार्य छैन ।

तर, मेवेन प्रोजेक्टमा गुगल हुनुको अर्थ के हो ? मार्चमा ‘गिज्मोडो’ वेबसाइटमा छापिएको एक शोध रिपोर्टमाथि जवाफ दिँदै गुगलले पुष्टि गरेको थियो कि ऊ रक्षा मन्त्रालयलाई आफ्ना केही प्रविधि सैन्य प्रोजेक्टमा उपयोग गर्ने अनुमति दिइरहेको छ ।

गिज्मोडोका अनुसार मेवेन प्रोजेक्ट पछिल्लो वर्ष एक पाइलट कार्यक्रमअन्तर्गत ‘लन्च’ गरिएको थियो, जसको उद्देश्य थियो, ‘आर्टिफिसियल एन्टेलिजेन्स’ सित सम्बद्ध प्रविधिलाई सैन्य प्रयोजनको उपाय खोज्नु ।

यस कार्यक्रमको लक्ष्यमा यो पनि सामेल छ कि गुगल ती भिडियो रेकर्डिङलाई प्रोसेस गर्नेछ, जोजो अमेरिकी सेनाको ड्रोन र खोजी उपकरणले हरेक दिन जुटाउँछन् । यसका साथै, उसले यी उपकरणलाई ट्र्याक गर्नेछ र विश्लेषणको नतिजा रक्षा विभागसित साझा गर्नेछ ।

यस मामिलामा गुगलका प्रवक्ताले बिबिसीसित भनेका छन्– मेवेन रक्षा विभागका लागि काम गरिरहेको एक प्रोजेक्ट हो र यसबारे मानिसहरू जानकार छन् । गुगल यसको जुन हिस्सामा काम गरिरहेको छ, त्यो कुनै अप्रिय छैन । यसका लागि एक ‘ओपन सोर्स सफ्टवेयर रिकग्निसन’को उपयोग गरिन्छ, जसलाई जोकोही गुगल क्लाउड क्लाइन्टले उपयोग गर्न सक्छन् ।

उनले थप अगाडि भनेका छन्– यो उपलब्ध जानकारीमै आधारित छ र यसका लागि प्रविधिको उपयोगबाट तस्बिर पहिचान गरिँदै छ, ताकि मानिसले तिनलाई पुनव्र्यवस्थापन गर्न सकून् । यसको एक मात्र उद्देश्य मानिसको ज्यान बचाउनु र मानिसलाई गलत काम गर्नबाट रोक्नु हो ।

आफ्ना कर्मचारीको चिन्ताबारे गुगलका क्लाउड बिजनेस म्यानेजर ड्यान ग्रिनले भनेका छन् कि उनीहरू जुन प्रविधिमा काम गरिरहेका छन्, त्यसलाई हतियार या ड्रोनलाई एक्टिभेट गर्ने कार्यमा उपयोग गर्न सकिँदैन ।

उता पत्रमा हस्ताक्षर गर्ने कर्मचारीले चेतावनी दिएका छन् कि यो प्रविधि सेनाका लागि नै बनाइँदै छ र जब यो सेनाको हातमा हुनेछ, त्यतिखेर उसले मनखुसी उपयोग गर्न सक्नेछ । – बीबीसी

https://www.youtube.com/watch?v=QNL4j91fqg8&t=50s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार