मुलुकभरको मौसम बिग्रिरहँदा छिनमा हावाहुरी र छिनमा वर्षा भइरहेको छ । पश्चिमी चापिय असरका कारण सुदूरपश्चिममा बिहीबार बेलुकी तीव्रगतिमा हावा हुरी आयो । त्यो क्रमले शुक्रबार बिहानसम्म काठमाडौंमा निरन्तरता पायो ।

अब यो हावाहुरी बिस्तारै पूर्वतिर सरिरहेको छ । मौसमविद् विभूती पोखरेलले हावाहुरीसहितको वर्षा र चट्याङ पूर्वतिर सरेको भन्दै सचेतना अपनाउन आग्रह गरेकी छिन् ।

उनले हावाहुरी र मेगर्जनसहितको वर्षा केही दिन रहने पनि जनाएकी छिन् । उनले भनिन्, ‘प्रिमनसुन यस्तै हुन्छ, यसले हावाहुरी निम्त्याउँछ, यो क्रम अझै रहन्छ ।’

सुदूरपश्चिममा हावाहुरीका कारण दुईको मृत्यु, एक सय भन्दा बढी घाइते

कैलाली आएको भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए ।

हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका उनले जानकारी दिए ।

घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते भएका छन् । घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिश गरिएको छ । अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ ।

हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो ।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ ।

तीमध्ये एक जना सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ ।

जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

हावाहुरीले आधा घण्टामै तहसनहस पारेको सुदूरपश्चिम

बिहीबार बेलुकी सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ ।८० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए ।

मृत्यु हुनेमा वीरबहादुर चौधरी र लाहानु चौधरी हुन् । मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको हावाहुरीकै कारण टिपरको ठक्करबाट मृत्यु भएको हो।त्यस्तै पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर टिकापुरका लाहानु चौधरीको मृत्यु भएको बताइएको छ।

घाइतेमध्ये धेरैजसोको सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया, निसर्ग अस्पताल हसनपुरलगायतमा उपचार भइरहेको छ । गम्भीर भएका दुई जनालाई थप उपचारका लागि भारत पठाइएको र दुई जनालाई कोहलपुर पठाइएको छ ।

बेलुकी ७ः३० देखि आधा घण्टासम्म चलेको हावाहुरीले थुप्रैको क्षति पुर्याएको छ । त्यसको यकिन विवरण आउन समय लाग्ने बताइएको छ ।

सयौं घरका छाना उडाएको छ भने बिजुलीका पोल ढालेको छ । रुखहरु ढल्दा केही सडकसमेत अवरुद्ध छन् । पश्चिमी चापिय प्रभावका कारण हावाहुरी आएको मौसमविद् सुवास रिमालले बताएका छन् । उनले अब यो क्रम पूर्वतिर सरेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार