काठमाडौ । क्रिपया आज हामी मेरो जीवनकै अति असिमित असंख्य अनुरोध गरिरहेको छु । हाम्रो जीवनकै अभिन्न अंग हाम्री छोरी सानी परिवारकै आँखाकी नानी प्रतिक्षा नेपाली मात्र, बर्ष १५ कि भइन् । अन्दाजी ५ फिट उचाइ छ उनको ।

हामी स्वयम्भु गैरिगाउ बस्दै आएका थियौ । तर अकस्मात यही जेष्ठ २३ गते बिहान ९ बजे देखी स्वयम्भु घर बाटै हराएको हुँदा हामी अति चिन्तित छौ । परिवारको खुशी मात्र हैन होस हवास उडेको छ । यसैले फेला पार्नु हुने वा देख्नुहुने जो कोहीले नजिकको प्रहरी कार्यालय तथा हाम्रो निम्न नम्बरहरुमा यथासिघ्र खबर गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ ।

सेयर गरेर विश्वभरीका नेपालीभाषीसम्म पुर्याएर हाम्रो परिवारको खुशीका लागि केही सहयोग गराईदिनुहुन ह्दयदेखि नै अनुरोध गर्दछु । देख्नुहुनेले ९८४१४७३४९७, ९८१३३९७३१६, ९८४३०१२९५८ मा सम्पर्क गरिदिनुहोला । यो हाम्रालागि दिइएको गुन नै जीवनको अति ठूलो गुन हुनेछ । नानी हराएपछि उनकी आमा अहिलेपनि होसमा छैनन् । बाबु {म} मेरो जीवनको अर्थ देखिरहेको छैन ।

जीवन नै अध्यारो बनाएर नानी कता र कसरी बेपत्ता भइन् । नानी हामी अपिल गर्छै यदि तिमि कुनै परिस्थितीमा छौ भनेपनि तिमि आफैले यो सन्देश देखेमा नानी तिमी घर फर्र्किएर आउँ । तिमीलाई कुनै कुराको कमि हुन दिँदैनौँ । यो घरको तिमी भाग्यौ हौ । लक्ष्मी हौ । तिमिलाई कसैले फसाएको छ भनेपनि हामीलाई सन्देश देऊ तिमिले भएको पुरा गरिदिन्छौ । तिमी जहाँ छौ जस्तो अवस्थामा छौ ।

तिमि घर फर्किएर आउँ नानी । अनि आम समुदाय तपाईहरुले हाम्री नानी जुन अवस्थामा देखेपनि क्रिपया हामीलाई खबर गरिदिनुहोला । जसरीपनि उनी सकुशल हाम्रो साथमा आउन् । भन्ने श्री पशुपतिना, साक्षत देवी पाथिभरा, बाबा मुक्तिनाथ, माता मनकामनासँगै ब्रमाण्डमा रहनुभएका ३३ कोटी देवतासँग प्रार्थना गर्दछौ ।

प्लिज प्लिज नानी आउ, प्लिज, प्लिज देख्नुहुनेसम्म पुर्याउन सक्दो सेयर गरिदिनुहोला । -प्रतिक्षाका परिवारको सामूहीक अपिल

योपनि पढ्नुहोस् । किन हराउँछन् महिला र बालबालिका ?

काठमाडौं । ‘मेरी बूढी छोरासहित हराई, अब के गर्ने होला’, निजगढ बाराका बलरामकुमार चौधरी माइती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई वर्षको छोरासहित हराएकी हुन् । तीन वर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफू नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।

चौधरी कामबाट बेलुकी हात्तीगौंडास्थित डेरामा पुग्दा शर्मिला, उनका लत्ताकपडा र भाँडाकुँडासहित हिँडिछन् । ‘कलंकीबाट वेल्डिङको काम सकेर बेलुकी डेरामा आउँदा बूढी छैन । मैले बूढानीलकण्ठ प्रहरी चौकीमा पनि निवेदन दिएको छु,’ चौधरीले भने । मानिस हराएको भनी चौधरीजस्तै व्यक्ति प्रहरीमा निवेदन दर्ता गर्दै माइती नेपालसमेत पुग्ने गरेका छन् । नेपाल टेलिभिजनबाट पनि हराउनेको फोटोसहित हुलिया, ठेगाना, कपडाको रङसहित मानिस हराएको सूचना प्रसारण हुने गर्छ । यसरी हराएका मानिस कहाँ जान्छन् भन्ने कसैलाई हेक्का छैन । हराउनेहरू अझै थपिँदै गएका छन् । हराउनेमध्ये पुरुषको तुलनामा महिला र बालिकाको संख्या बढी देखिन्छ ।

पोखराकी सुमित्रा थापाकी छोरी स्वीकृति १३ वर्षकी हुँदा हराएकी हुन् । पोखरा, लालीगुराँस १२ बस्ने स्वीकृति हराएको तीन वर्ष नाघिसक्यो । उनी कहाँ छिन्, कस्तो अवस्थामा छिन् कसैलाई अत्तोपत्तो छैन । स्वीकृति त्यतिबेला पोखराकै रेम्बो एकेडेमीमा कक्षा ७ मा पढ्थिन् । एक्ली छोरी उनी घरबाटै हराएकी थिइन् । आफन्त, नातागोता सबैले निकै खोज्दा पनि नभेटेपछि त्यही चिन्ताले ७० नाघेकी हजुरआमा बिरामी भइन् । आमाबुबालगायत परिवार अझै उनको पर्खाइमा छन् । आमा सुमित्राले एक्ली छोरी हराउँदाको पीडा भुल्न सकेकी छैनन् । परिवारले बालबालिकाका क्षेत्रमा काम गर्ने सिविन, बालबालिका खोजतलास केन्द्र, माइती नेपाल, प्रहरी, नेपाल टेलिभिजन, पत्रपत्रिकालगायतका धेरै ठाउँमा हराएको सूचना दिइसकेका छन् ।

मोरङको सुन्दरहरंैचा नगरपालिकामा रहेको जुपिटर बोर्डिङ स्कुलमा कक्षा १० मा पढ्ने १४ वर्षीया पूजा भगत २०७३ फागुन ४ मा हराइन् । स्कुल गएकी छोरी घर नफर्केपछि उनका बुबा मदन भगतले तुरुन्तै प्रहरीचौकीमा उजुरी दिए । भगतले विराटनगर महिला सेलमा पनि निवेदन दिए । एक महिनासम्म चौकीमा धाए । शंका लागजति ठाउँमा पुगे । भगतले बल्ल सात महिनापछि उनकी छोरीलाई जनकपुरका एक युवकले भगाएको पत्ता लगाए । तर, पूजाको नाम अझै पनि नेपाल प्रहरीको वेबसाइटमा हराएकै सूचीमा छ ।

प्रहरीको वेबसाइटमा हराएका भनिएका कतिपय मानिस भेटिसकिएका पनि देखिन्छन् । तर, कतिपय महिला तथा बालिका लामो समयदेखि हराइरहेका छन् । उनीहरु कहाँ के गर्दैछन् भन्ने कुरा न उनका परिवारलाई पत्तो छ न राज्यलाई । २०७१/७२ को तथ्यांकअनुसार नेपालमा ५ हजार ६ सय ८३ जना मानिस हराएको उजुरी प्रहरीमा आएको थियो । हराउनेमा बालबालिकादेखि वयस्कसम्म छन् । तीमध्ये ८ सय ४६ जना भेटिएका थिए । हराएकामध्ये ३ हजार ३ सय ७६ जना महिला, ८ सय ८९ जना पुरुष, ७ सय २४ बालिका र ६ सय २४ जना बालक छन् । तीमध्ये ४ सय १८ जना महिला भेटिएको जानकारी प्रहरीमा आएको थियो । १ सय १४ जना पुरुष, १ सय ५९ जना बालक र १ सय ५५ जना बालिका भेटिएका थिए । महिला र बालिका गरी ४ हजार १ सय जना हराएकामध्ये ५ सय ३७ जना भेटिए भने बाँकी ३५ सय २७ जनाको अझै पत्तो छैन ।

२०७२/७३ मा हराउनेको संख्या अघिल्लो वर्षको तुलनामा केही बढेको देखिन्छ । एक वर्षको अवधिमा ५ हजार ९ सय ५७ जना मानिस हराएका छन् । त्यसमध्ये ३ हजार ५ सय ७५ जना महिला र ७ सय ३० जना बालिका छन् । त्यस अवधिमा क्षेत्रगत रूपमा तथ्यांक हेर्दा उपत्यकाबाटै हराउने महिलाको संख्या बढी देखिन्छ । यसमा गाउँबाट सहर आएका महिला धेरै हराएको प्रहरीको आँकलन छ । ४ हजार ३ सय ५ जना अझै हराएको सूचीमा छन् ।

२०७३/७४ को तथ्यांकमा हराउनेको संख्या अघिल्लो वर्षको तुलनामा २ हजार बढी देखिन्छ, जसमा ७ हजार २ सय ७८ जना मानिस हराएका छन् । ३३ सय ३२ जना महिला र १७ सय २५ बालिका गरी जम्मा ५ हजार ५७ जना हराएका छन्, जसमध्ये १ हजार ३२ जना भेटिएका छन् । ४ हजार २५ जना महिला र बालिकाको अवस्था अझै अज्ञात छ ।

तीन वर्षमा हराउने महिला र बालिकाको संख्या ११ हजार ८ सय ५७ देखिन्छ । यसरी नेपाल प्रहरीमा रहेको तथ्यांकले हराउने बढ्दैछन् भन्ने देखाएको छ । पुरुषको तुलनामा महिला र बालिका बढी हराएको देखिन्छ भने भेटिने संख्या पनि महिला र बालबालिकाकै कम छ । प्रहरीका अनुसार कोही व्यक्ति परिवारसँग सम्पर्कविहीन भएपछि खोजिदिन आग्रह गर्दै चौकी पुग्छन् । हराएका व्यक्तिको फोटो, हुलिया, ठेगाना प्रहरीले संकलन गर्छ । सबै जिल्लामा, सीमा नाकामा समेत अभिलेख जानकारी पठाउने गरेको प्रहरी प्रवक्ता मनोज नेउपाने बताउँछन् ।

‘हराउने बित्तिकै खबर दिन आउँछन्, भेटिएको खबर गर्नै आउँदैनन् । त्यसैले संख्या बढी देखिएको हुन सक्छ,’ नेउपानेले भने । हराएको खबर भन्न चौकी पुग्ने व्यक्ति भेटिएको जानकारी दिँदैनन् । त्यसैले कोही तुरुन्तै भेटिए पनि प्रहरीको सूचीमा भने हराएको तथ्यांकमै देखिन्छ ।
प्रहरी संरचनाअनुसार हराएका व्यक्ति खोज्ने छुट्टै संयन्त्र छैन । हराएको मानिस नभेटिएसम्म प्रहरीले निरन्तर खोजी गर्न सकिरहेको हुँदैन । मानिस हराउनुमा सामाजिक कारण पनि रहेको प्रहरी बताउँछन् । सहरमा घरानीया वर्गका व्यक्तिले काम गर्न राख्ने चलन छ । कामका लागि बस्ने व्यक्तिले रेष्टूरेन्ट, गेष्ट हाउसमा काम गर्छन् । प्रहरीलाई सही ठेगाना बताउँदैनन् । ढाँटेर नयाँ परिचयका साथ कोही बसिरहेको हुनसक्ने नेउपानेले बताए ।
बारा निजगढबाट जुपा लामालाई १२ वर्षको उमेरमा फुपूको छोरा दाजुले काठमाडौं ल्याएका हुन् । घरमा ५ दिदीबहिनी थिए । घरकी साइँली उनलाई काठमाडौं पढ्न र काम लगाइदिने भनेर ल्याइएको थियो । सुरुमा उनलाई गलैंचा बुन्ने काम लगाइदिए । जुपालाई गलैंचा बुन्ने ठाउँमा कुट्ने, पिट्ने गरेपछि उनी त्यहाँबाट भागेर एकजना साथीसँग गेष्ट हाउसमा काम गर्न थालिन् । फूपुको छोरासँग सम्पर्क टुट्यो, घरपरिवारसँग पनि । धेरै कमाउने खोजीमा उनी डान्स बार पुगिन् । उनी ठमेलको एउटा डान्स बारमा काम गर्छिन् । उनी अहिले २६ वर्ष भइसकिन् । एक्लै बस्छिन् । परिवारले उनलाई हराइन् भनेर खोजेका थिए । गोंगबुमा भेटिएकी जुपाले भनिन्, ‘बाआमाले पहिले हराएको भन्दै खोजेका थिए रे ! अहिले त मलाई मरिसक्यो भन्छन् रे !’ उनले आफ्नो वास्तविक नाम, ठेगाना परिवर्तन गरेर खुशीसाथ काम गरेकी छिन् ।

मानव बेचबिखनको स्वरूप परिवर्तन भएकाले महिला हराउने गरेको पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङ बताउँछिन् । रोजगारीका क्रममा विदेशमा पुगी समस्यामा परेर फर्केका महिलालाई आत्मनिर्भर बनाउने काममा लागेको उनी बताउँछिन् । स्वदेशमै रोजगारी नभएकाले लुकिछिपी भए पनि महिला विदेश जान वाध्य हुँदा हराउनेको संख्या बढेको गुरुङ बताउँछिन् । आन्तरिक बेचबिखनका कारण गाउँबाट काठमाडौं आएर मनोरञ्जनात्मक क्षेत्रमा काम गर्न बाध्य छन् । कतिपयले आफ्नो परिचय परिवर्तन गरेका कारण हराउने गरेको गुरूङ बताउँछिन् । ‘यसरी आउने महिलाले धेरै पढेका हुँदैनन् । काठमाडौं आएपछि जुनसुकै काम गर्न वाध्य हुन्छन्,’ गुरुङले भनिन्, ‘सेक्स टुरिजम पनि बढ्दैछ । काठमाडौं ट्रान्जिटको रूपमा विकास हुँदैछ ।’ त्यसकारण महिलाहरू परिचय लुकाएर हराउन बाध्य छन् ।

रुकुम टक्सेराकी निका मगर ८ वर्षअघि कामको खोजीमा काठमाडौं आइन् । सानैमा आमा बितेपछि पढ्न नपाएर काम खोज्न काठमाडौं आएको बताउँछिन् । पहिले पार्टी प्यालेसमा काम गर्थिन् । त्यसपछि रोल्पा घर बताउने एक केटासँग विवाह गर्ने बहानामा डल्लुमा सँगै बस्न थालिन् । हुनेवाला पति मानेको व्यक्तिले उनलाई थाहै नदिई तीन वर्ष अघि छोडेर गयो । फोन गर्दा ४-५ दिनपछि आउने बताएको थियो, अर्कोदिन नम्बर परिवर्तन ग¥यो । ऊ कहाँ छ पत्तो छैन । उनी घरपरिवारसँग सम्पर्कमा छैनन् । नयाँ नाम र परिचयसहित उनी अहिले गोंगबुको दोहोरी साँझमा काम गर्छिन् ।

हराएका भनिएका कतिपय केटाकेटी मिलेर जाने गरेको माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला बताउँछिन् । ‘कतिपय दलालले काम लगाइदिन्छु भनेर गेष्ट हाउस, मसाज सेन्टर, डान्स बारमा पु¥याउने गर्छन् । कतिपयले गेष्ट हाउसमा लगेर यातना दिने गर्छन् । यातना दिएकोबारे कसैलाई भन्न सक्दैनन् अनि ठेगाना ढाँटेर काम गर्न वाध्य छन्’, उनले भनिन् । कतिपय किशोरी, महिला पैसा कमाउने लोभमा घर छोडेर हिड्ने गरेको कोइराला बताउँछिन् ।
महिला तथा बालबालिका कार्यालय काठमाडौंले डान्स बार, डान्स रेष्टूरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको पेशालाई मर्यादित बनाउने उद्देश्यले अनुगमन गर्ने गरेको छ । बाल संरक्षण अधिकृत इन्दिरा पौडेलले १८ वर्ष मुनिका बालिका डान्स बार, खाजा घर, मसाज पार्लरमा रहेको अनुगमनको क्रममा भेटिएको बताइन् । तर, उनीहरूले उमेर २२÷२३ वर्ष भएको भन्दै ढाँट्छन् । ‘नाम, ठेगाना, उमेर, उनीहरुले बुझ्ने तलब सबै ढाँट्छन्,’ उनले भनिन् । डान्स बारमा बच्चासहितका आमासमेत काम गर्ने उनले बताइन् । ‘यति जना छन् भन्ने तथ्यांक छैन । अनुगमन गर्न जाँदा नामै सही भन्दैनन्,’ पौडेलले भनिन्, ‘कतिपय साहुको अघि केही भन्दैनन् । पछि लुकेर फोन गरेर यौन शोषणमा परेको पनि हामीलाई भन्छन् ।’ अनुगमनका क्रममा बसपार्कमा रहेको एउटा डान्सबारमा ५ जना महिलामध्ये दुईजना बच्चा लिएर काम गरेको देखेको उनले जनाइन् । घर परिवारसँग सम्पर्कमा रहेकाले पनि मनोरन्जन क्षेत्रमा काम गर्नेले घरमा सहकारी, व्युटी पार्लरमा काम गरेको भनेर ढाँट्ने गरेको उनले बताइन् । महिला बालबालिका कार्यालय काठमाडौंले गत वर्ष १५ वटा डान्सबार, मसाज पार्लरमा अनुगमन गरेको थियो ।

यसरी हराउँछन् बालबालिका : झापाबाट पढाइदिने र घरमा काम गर्नका लागि १२ वर्षकी माधुरी गुप्तालाई कपनमा राखेका थिए । कक्षा ३ मा पढ्ने गुप्ता स्कुल जाने बेलामा दूध लिन पसल जाँदा उतैबाट हराइन् । स्कुल पोशाकमै हराएपछि घरमुली सन्जय दाहाल हत्त न पत्त माइती नेपालमा पुगेर हराएको उजुरी दर्ता गराए । मंसिर २४ गते बिहान हराएपछि दाहाल दिउसो माइती नेपाल पुगेका थिए । त्यसपछि दाहाललाई माइती नेपालमा कार्यरत अधिवक्ता उमा तामाङले बालबालिका खोजतलास केन्द्रमा पठाइदिइन् ।

बालबालिका हराएका खोजी गर्ने अर्को एउटा निकाय बालबालिका खोजतलास केन्द्र पनि हो । भृकुटीमण्डपमा रहेको खोजतलास केन्द्रमा आएका उजुरी हेर्दा एक वर्षमा १ हजार ३ सय ५८ जना बालिका हराएका छन् । गत असारदेखि असोजसम्म १ सय ६२ जना बालिका हराएको तथ्यांक छ । हराइरहेका १६ वर्षमुनिका ती १ हजार ५ सय २० जना बालिका कहाँ छन् भन्ने कुनै पत्तो छैन ।

धेरैजसो बालिका घरेलु श्रमिकका रूपमा रहेको बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषराज अधिकारी बताउँछन् । केन्द्रमा हराएको उजुरी आएका बालिकाहरु देश बाहिर नपुगेको र काठमाडौंकै होटल, रेष्टूरेन्ट, बार, मसाज सेन्टर, डान्सबारमा रहेको उनको दाबी छ । कसैले उजुरी नगरेसम्म होटल, डान्स बार जस्ता स्थानमा आफूहरू जान नपाउने उनले बताए ।

गरीवीको कारण कसैको ललाइफकाइमा परी बालिका घर छोडेर हिंड्ने र सहरमा जे काम पाइन्छ त्यसमै लाग्ने, घरपरिवारमा सम्पर्क नगर्ने गरेका छन् । घरमा छोरीको संख्या बढी हुँदा पनि हेरचाह नहुँदा भाग्ने गरेको केन्द्रमा आउने उजुरीको अध्ययनले बताउने अधिकारीले सुनाए । ‘बालिकाका घरमा खाने, बस्ने, सुत्नेसम्म ठाउँ हुँदैन । त्यसैले घर छोड्न बाध्य हुन्छन्,’ अधिकारी भन्छन्, ‘हामीले भेटेका र घरमा राम्रो नभएका बालिकालाई विभिन्न संघ संस्थामा लगेर छोड्छौं ।’ हराएका बालिका काठमाडौं वरपरका नै भएको उनको दाबी छ ।

धेरैजसो हराएका बालिका सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेका विपन्न परिवारका भएको उनले बताए । कतिपय बालिका घर जाने वातावरण नभकाले आफ्नो नाम, ठेगाना परिवर्तन गरेर बस्ने गरेको उजुरी अध्ययनले देखाउने उनले बताए । अधिकारीका अनुसार कतिपय भेटिए पनि घरमा फर्किन मान्दैनन् ।

काठमाडौंका मसाज सेन्टर, दोहोरी साँझ, क्याबिन रेष्टुरेन्ट, डान्सबार, गेष्ट हाउसमा काम गर्ने महिलालाई समेटेर शक्ति समूहले गोंगबुमा रिसोर्स सेन्टर खोलेको छ । विभिन्न मनोरन्जन क्षेत्रमा काम गर्ने युवतीहरूलाई निःशुल्क व्युटी पार्लर तालिम दिने गरेको शक्ति समूहकी सुनिता दनुवारले बताइन् । शक्ति समूहले १० वर्ष अघि गरेको एक अध्ययनमा उपत्यकाका विभिन्न मसाज सेन्टर, क्याबिन, रेष्टूरेन्टमा काम गर्ने ५० हजार महिला रहेको तथ्यांक निकालेको थियो । दनुवारका अनुसार समूहले त्यसपछि त्यस्ता ठाउँमा काम गर्ने महिलाको समूह बनाएर १८ वर्ष मुनिका बालिका भएमा अन्य काममा लगाउने गरेको छ । अन्जानमा घर, पढाइ छोडेर काम गर्न वाध्य बालिका, महिलालाई पढाउने, आय आर्जनमूलक काम सिक्न लगाउने गरेको उनले बताइन् । ‘सुरक्षित र अधिकारका लागि १८ वर्ष मुनिकालाई डान्स बार, क्याबिनमा काम गर्न दिनुहुन्न’ उनले भनिन् ।

कतिपय महिला, बालिका आन्तरिक बेचबिखन रहेको दनुवार बताउँछिन् । उनका अनुसार घरपरिवारमा बस्ने वातावरण नहुँदा गाउँ छोड्छन् । गाउँमै राम्रो जागिर लगाइदिने लोभ देखाएर युवतीलाई सहरमा ल्याएर अनेक काम गर्न लगाउँछन् । कतिपय घर फर्कन चाहँदैनन् । शक्ति समूहले यौन दुव्र्यवहारमा परेका १८ वर्ष मुनिका बालिकालाई सेल्टर होममा राख्ने गरेको छ । पोखरामा रहेको सेल्टर होममा १२ जना बालिका छन् । काठमाडौं र सिन्धुपाल्चोकको सुरक्षित घरमा ४० जना महिला र बालिका रहेको दनुवारले बताइन् । उनीहरू कतिपय हराएको सूचीमा हुनसक्ने उनले बताइन् । शक्ति समूहको सम्पर्कमा आएपछि घरपरिवारलाई सम्पर्क गराइदिने गरेको उनको भनाइ छ । तर, कतिपय परिवारले समाजका डरका कारण स्विकार नगर्ने हुँदा उनीहरु घर जाँदैनन् ।

पैसा कमाउने लोभमा कतिपय किशोरीहरू घर छोडेर हिंड्ने गरेको माइती नेपालमा कार्यरत उमा तामाङले बताइन् । कतिपय केस प्रहरी समक्ष पनि आउन नसक्ने उनी बताउँछिन् । घरपरिवारले छोरी हराएको उजुरी गर्दा छरछिमेकले राम्रो नमान्ने भएकाले पनि चुप लागेर बस्ने गरेको उनको भनाइ छ ।

काभ्रेका टीकाराम लामाले कात्तिक ७ मा सासु र आफ्नी ३ वर्षे छोरी हराएको निवेदन प्रहरीमा दिए । उनी माइती नेपाल पनि निवेदन लिएर पुगे । उनकी सासु रुद्रकुमारी खड्काले उनलाई नसोधी पत्नीलाई विदेश पठाएको र आफ्नी नाबालिका छोरीसहित गायब भएको भन्दै खोजतलास गर्न आग्रहसहितको निवेदन दिए । उनकी सासु रुद्रकुमारीले मोबाइल नम्बर परिवर्तन गरी कहाँ गइन् उनलाई पत्तो थिएन । माइती नेपालमा कार्यरत अधिवक्ता उमाले रुद्रकुमारीको मोबवाइल नम्बर बल्लतल्ल फेला पारिन् । उनले फोन गर्दा म रुद्रकुमारी होइन भन्ने उत्तर आयो ।

यस्तै विभिन्न खालका हराएका निवेदन माइती नेपालमा समेत आउने गरेका छन् । गत ६ महिनामा १ हजार २ सय ३२ जना महिला र बालिका हराएको अभिलेख माइती नेपालसँग छ । सबैभन्दा धेरै बाँके जिल्लाबाट ४ सय जना हराएको तथ्यांक छ । माइती नेपालका अनुसार यस्तो तथ्यांक प्रहरीसँग भए पनि कतिपयचाहिँ प्रहरीमा जान नचाहनेको तथ्यांक पनि त्यहाँ छ । माइती नेपाल पुग्नेलाई प्रहरीमा पनि उजुरी गर्न पठाउने गरेको र कतिपयले पहिले प्रहरीमा पुगी त्यहाँ आउने गरेको माइती नेपालकी कानुन अधिकृत उमा तामाङले बताइन् ।

मनोरन्जन क्षेत्रमा काम गर्ने महिलासँग काम गरिरहेको गैसस विश्वास नेपालले २०७३/०७४ को वार्षिक प्रतिवेदनमा अनुगमनको क्रममा २ हजार ७ सय ३० जना महिला एवं किशोरी भेटेको उल्लेख गरेको छ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले परिवारको सम्पर्कभन्दा बाहिर रहेर काम गर्ने बताइन् । ‘घरमा सौतेनी आमा भएका, डिप्रेसनका कारण घर छोडेका, घरमा बस्ने वातावरण नभएका, धेरैजसो पढ्न नपाएका, धेरै छोरीहरू घरमा भएकाले काम गर्छन्’, उनले भनिन्, ‘श्रीमान्ले छोडेका, हिंसामा परेकासमेत काम गर्छन् ।’ अधिकांशले सही ठेगाना नबताउने र अन्त्यमा विश्वास जितेपछि संस्थासँग खुल्ने गरेको भण्डारीले बताइन् ।

कतिपय महिला वाध्यताले हराएका छन्, कतिपय लहडबाजीमा । कसैले रहर, कसैले बाध्यतामा घर छोडेका छन् । हराउनुमा एउटा कारक उमेरजन्य परिस्थितिको परिणाम देखिन्छ । महिलाको अवस्था हेर्दा शारीरिक रूपमा हराएका छैनन् । सबैजना नाम, निसानै नभेटिने गरी हराएका होइनन् । महिला एवं बालबालिका सामाजिक बाध्यताले हराएको देखिन्छ । सामाजिक पहिचानका कारण समाजमा पुनःस्थापना हुन नसक्दा हराएका देखिन्छन् । मनोजरञ्जन क्षेत्रमा काम गर्ने महिला समाजको हेराइ गलत हुँदा हराएका छन् । घरेलु हिंसा सहन नसकेर छुट्टै बसेका, नयाँ परिचय बनाएर बाँच्न चाहनेहरू हराएको सूचीमा परेको देखिन्छ ।

कसरी हराउँछन् ?

  • पति, परिवारको कुटपीट, हिंसामा परी पत्नीले घर छोड्ने
  • आफूखुसी बच्चा लिएर घर छोड्ने
  • बाआमालाई घुक्र्याउन साथीभाइ एवं आफन्तकोमा जाने
  • घरमा थाहै नदिइ साथीहरुसँग घुम्न जाने
  • साथीको लहलहैमा घर छोडेर हिंड्ने
  • ललाइफकाइमा परेर गाउँघर छोड्ने
  • पैसा कमाउने लोभमा शहर पस्ने
  • कहाँ जान्छन्
  • घर छोडेपछि फर्कन लाज एवं डरले परिचय लुकाएर बस्ने
  • धेरै पैसा कमाउने लोभमा नराम्रो काममा फस्ने
  • नाम, थर, ठेगाना ढाँटेर घरेलु कामदारको रुपमा बस्ने
  • बेचबिखनमा पर्ने
  • अरुलाई सजिलै विश्वास गर्दा वाध्यतामा फस्ने
  • सहरका मसाज सेन्टर, डान्सबार, रेष्टुरेन्ट, खाजा घर, दोहोरी साँझमा परिचय लुकाएर काम गर्ने

janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार