एजेन्सी । तपाईलाई खुसी हुन कति पैसा चाहिन्छ ? कतिपय मानिसहरु यो विश्वास गर्छन् कि जीवनका उत्तम कुराहरु विना पैसा पाइन्छ । तर कतिपयलाई भने पकेटमा लाखौँ रुपैयाँ हुँदा खुसी बनाउँछ ।

यसको सहि उत्तर नै छैन । तपाईलाई खुसी हुन कति पैसा चाहिन्छ भन्ने कुरा तपाई, तपाईको अवस्था र तपाई बसोबास गर्ने स्थानमा भर पर्छ । तपाईले जीवनका आधारभुत आवश्यकताहरु पुर्‍याउन नसक्दा पक्कै पनि खुसी हुन सक्नुहुन्न । तर के सबै अरबपति अन्य मानिसहरु भन्दा खुसी छन् त ? पक्कै पनि छैनन् । पैसाले मात्रै मानिसलाई खुसी बनाउँछ भन्ने होइन ।

त्यसैले यसको उत्तर दिन निकै कठिन छ । तर अर्थविद्हरुलाई यति कुराले भने यसको अनुमान लाउन रोक्न सक्दैन । विगतमा एउटा मानिसलाई खुसी हुनको लागि चाहिने तलवको अनुमान गरिएको थियो । जसअनुसार अमेरिकाको एउटा मानिसलाई वार्षिक ७५ हजार डलरले खुसी राख्न सक्ने अनुमान गरिएको थियो । त्यो दरमा कमाउने मानिसहरु अन्य भन्दा धेरै खुसी हुन्छन् भन्ने थियो ।

पर्ड्यु युनिभर्सिटिले गरेको नयाँ अनुसन्धानले सो धारणालाई जटिल बनाउनुका साथै केही अपडेट गरेको छ । नेचर ह्युमन बिहेभियरमा प्रकाशित सो खोजका अनुसार विश्वका विभिन्न स्थानमा बस्ने मानिसहरुको जीवन मुल्यांकनको लागि फरक फरक स्तरको अनुकुल कमाई हुन्छ । र मानिसहरुको भावनात्मक अवस्था पनि ठाउँ अनुसार फरक हुन्छ ।

अनुसन्धानकर्ताहरुले मानिसको लागि जीवन मुल्यांकनको लागि ९५ हजार डलर र भावनात्मक अवस्थाको लागि ६० हजार देखि ७५ हजार डलर आवश्यक पर्ने अनुमान गरेका छन् । त्यो भन्दा बढि कमाई हुँदा मानिसको जीवनप्रतिको सन्तुष्टि र भावनात्मक अवस्थामा अझै ह्रास आउने अनुसन्धानकर्ताहरुको भनाइ छ । यो अनुमान एक व्यक्तिको लागि मात्रै हो, परिवारको लागि भने निकै धेरै कमाई चाहिने बताइएको छ । यो नतिजा १६४ देशका १७ लाख मानिसहरुमा गरिएको अनुसन्धानमा आधारित छ । मानिसलाई खुसी बनाउन कति पैसा चाहिन्छ भन्ने कुरा स्थान, देश अथवा वातावरण अनुसार फरक हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार