नुवाकोट, वैदेशिक रोजगारीका कारण बिभिन्न विकृति मौलाइरहेका बेला नुवाकोटमा यस्तै एउटा घटना भएको छ ।
अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा नुवाकोटको तारकेश्वर गाउँपालिकाबाट देवर–भाउजु नै पक्राउ परेका छन् ।
तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण बुधबार पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।
दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
नवजात छोरीको हत्या गरी मलकुण्डमा गाडेको अवस्थामा बुधबार बिहान फेला परेपछि उनीहरु पक्राउ परेका हुन् ।
सविनाका पति चार वर्षदेखि मलेसियामा छन् । चार वर्षका छोराकी आमा सविनाले देवरसँगको यौन सम्बन्धबाट जन्मेको नाबालिका मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ ।







