काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) ले गरेको एक अध्ययनले बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ।

नेपालका २० देखि २४ वर्षका पुरुषहरुमा गरिएको अध्ययनले १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह भएको तथ्य बाहिर आएको हो।

सो अध्ययनले अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका, क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा सबै भन्दा बढी बालविवाह हुने गरेको देखाएको छ।

तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) बालकको बालविवाह हुने गरेको छ। बालविवाह हुने मुलुकको सूचीमा नेपाल दशौँ स्थानमा रहेको छ।

अध्ययनअनुसार विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ। बालविवाह हुनेमा धेरैजसो बालिका छन्। त्यस्तै २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, ‘बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसका लागि उनीहरू तयार भएका हुँदैनन्। बालविवाह भएका बालकले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुन्छन्।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार