भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गरेका छन् ।

घ्यू उत्पादनबाट व्यवासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आएका प्रेमजीले बिहीबार अवकासको घोषणा गरेका हुन् ।

“मैले विप्रोसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने पूर्व तथा वर्तमान सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा उनीहरूका परिवारप्रति धन्यवाद दिन चाहन्छु । उनीहरूको सहयोग र प्रेरणाले नै कम्पनीलाई आजको सफलताको अवस्थामा पु¥याउन सम्भव मिलेको हो,” ७३ बर्षीय सफल व्यवसायी प्रेमजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले भने, “यो मेरो लागी लामो सन्तुष्टिको यात्रा भएको छ । भविष्यमा मैले बाँकी जीवनलाई परोपकारका गतिविधिमा लगाउनेछु ।”

प्रेमजीले विप्रोलाई सन् १९६० को दशकको अन्त्यदेखि नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा विप्रोले एक सफल सूचना प्रबिधि क्षेत्रमा विश्वभर ख्याति प्राप्त गर्न सफल भएको छ । हाल विप्रोले विश्वका ५० मुलुकभन्दा बढीमा बार्षिक आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरकोे कारोबार गर्दै आएको छ ।

प्रेमजीले विप्रोको कार्यकारी अध्यक्षबाट आगामी जुलाई ३० देखि अवकास लिनेछन् भने उनको उत्तराधिकारीका रूपमा छोरा रिषाद प्रेमजीले कम्पनीलाई नेतृत्व प्रदान गर्नेछन्। प्रेमजीले कम्पनीको गैर–कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षका रूपमा भने सम्लग्नता रहनेछ ।

गत मार्चमा प्रेमजीले विप्रोमा रहेको आफ्नो शेयरको ३४ प्रतिशत शेयरलाई आफ्नो नाममा रहेको एक प्रतिष्ठानमार्फत परोपकारी गतिविधिका लागि योगदान गर्ने बताउनुभएको ब्लुमवर्गको समाचारमार्फत् जानकारी गराइएको थियो ।

विप्रोका अध्यक्षबाट प्रेमजीले राजीनामा गर्ने समाचारसँगै यस कम्पनीको शेयरमा बिहीबार एक प्रतिशतले गिरावट आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार