काठमाडौं । सामान्यतया केटाहरुले केटीमाथि एसिड आक्रमण गरेका घटनाहरु समयसमयमा सार्वजनिक हुने गर्दछन् । तर महोत्तरीमा पनि एक किशोर माथि नै एसिड आक्रमण भएको छ ।
पछिल्लो समय नेपालमा पनि एसिड आक्रमण जस्तो जघन्य अपराध हुने क्रम बढिरहेको छ । केही समय यता महिलाहरुमाथि एसिड आक्रमण भएका घटनाहरु सार्वजनिक भएका थिए । महोत्तरीको बर्दिवासमा एक जना १५ वर्षीय किशोरमाथि एसिड प्रहार भएको हो । बर्दिवास नगरपालिका–२ बस्ने १५ वर्षीय सुरज मुखियामाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेका हुन् ।
हिजो शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। सुरज दुर्व्यसनमा लागेकाहरूको सङ्गतमा रहेको प्रहरीको अनुमान छ । किशोरमाथि के कति कारणले एसिड प्रहार भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हाल सुरजको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







