सुनकोशीले बगाउँदा खोटाङमा एक बालकको मृत्यु भएको छ । उदयपुरको रुपाटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरमा गएपछि घर फर्कने क्रममा शनिबार सुनकोशीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका १२ वर्षीय विजय राईको मृत्यु भएको हो ।
बालकलाई नदी तर्ने क्रममा सुनकोशीले बगाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाउने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताए ।
त्यस्तै दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारका एक युवकको खोलामा डुबेर आज मृत्यु भएको छ । २१ वर्षीय भीमबहादुर नेपालीको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
आफन्तको वार्षिक पुण्यतिथिमा पञ्चकोशी तीर्थस्थलमध्येको कोटिलामा गएका नेपालीको कोटिला मन्दिर नजिकैको छामघाट खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।
पौडी खेल्न नजान्ने नेपाली शुरुमा छिपछिपे पानीमा पौडी खेलेको भए पनि पछि गहिरो स्थानमा पौडी खेल्न गएको र त्यही गहिरो खोँचमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । प्रहरीका अनुसार मृतक नेपालीको शव भेटिएको स्थानमा १४ फिट गहिरो पानी थियो ।
मृतकको शव परीक्षणका लागि दैलेख अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।







