– विजय थापा

धनको डकार कहिले पनि आउँदैन । यही धनका लागि मानिसले जे पनि गर्छ । धनको लागि दिन रात मानिस पछि लाग्दछन । र, विश्वमा जोगी र केही अपबाद बाहेक सबैजना सम्पत्तिकै पछाडि कुँदिरहेका हुन्छन् ।

नदौडी पनि नहुने, पैसा नहुँदा जीवन अन्धकारमय पनि हुन्छ । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ नेपाली उखान । कमाउनु पनि पर्छ । यसको कुनै सीमा हुँदैन, जति कमायो त्यति नै तृष्णा हुन्छ । धनको पछाडि नलाग्ने बेबकुफ मानिन्छ, हाम्रो समाजमा । परिवार, सामाजिक प्रतिष्ठा, ईज्जत तथा समुदायको लागि कमाउनु अपरिहार्यझै छ । जीवनको चक्र चलाउन कमाउनु पनि पर्छ । विश्वको सबैभन्दा गरिबको चर्चा हुँदैन्, तर बिश्वकै सबैभन्दा धनी को ? भन्दा बिल गेट्स सबैले चिन्दछन् । उसैको सामाजिक प्रतिष्ठा छ र ईज्जत । जसले जे भनेता पनि पैसा कमाएकै जाति ।

अमेरिकामा ३ प्रकारका नेपाली समुदाय भेटिन्छन्, पहिलो नेपाल सदाको लागि छोडेर अमेरिकामै बस्ने । अमेरिका बसाईँसराई सपरिवार बस्ने । जसको उद्देश्य केवल यतै कमाई गर्ने र यतै बस्ने । उनीहरुमा धैर्यता हुन्छ । यतै पढने, सन्तानलाई पढाउने र कमाउनेतर्फ केन्द्रित हुन्छन् ।

कमाउनु धेरै बाटा हुन्छन, सही र गलत । कुत सम्पत्ति कमाए ठीक । अकुत सम्पत्ति कमाए कानुनी घेरामा पर्ने सम्भावना हुन्छ । यही मुद्राको लोभले मानिस बिग्रिन्छन । मानिसले पापी पेटको लागि अनेकौँ चाहिने र नचाहिने काम गर्न बाध्य हुन्छन् ।

नेपालीहरु अमेरिकामा झन्डै ३ लाखको हाराहारीमा भएको अनुमान गरिएको छ । सपनाको संसार अमेरिका आउनुको एउटा मात्र उद्देश्य आर्थिक सम्पन्न हुनु हो । धन कमाई परिवार र आफू सम्वृद्धि बन्नु हो । यसबाहेक मानिस आफ्ना भावी पिँढीहरुका लागि भबिष्य निर्माण गर्न अमेरिका आएका हुन्छन् ।

देशको मडारिएको राजनीतिक अस्थिरता, अन्यौल, बेरोजगारी, असुरक्षा आदि इत्यादीको कारण पलायन ह्वात्तै बढेको छ भने संसारकै सबैभन्दा समृद्धिशाली राष्ट्र अमेरिकामा खुट्टा टेक्न पाउनु नै सबैभन्दा ठूलो सौभाग्य ठान्नेहरु धेरै छन् । यही क्रममा हजारौँ नेपालीहरु अमेरिका आइपुगेका छन् । अमेरिकामै बसेर र यहीँ कमाई गरेर नेपालमा १ तला देखि ७ तला सम्म घर बनाउँछन् ।

अमेरिकामा ३ प्रकारका नेपाली समुदाय भेटिन्छन्, पहिलो नेपाल सदाको लागि छोडेर अमेरिकामै बस्ने । अमेरिका बसाईँसराई सपरिवार बस्ने । जसको उद्देश्य केवल यतै कमाई गर्ने र यतै बस्ने । उनीहरुमा धैर्यता हुन्छ । यतै पढने, सन्तानलाई पढाउने र कमाउनेतर्फ केन्द्रित हुन्छन् ।

उनीहरु नेपालको त्यति चासो राख्दैनन् । यो वर्ग कमाउँछ र धनी हुँदै जान्छ । पढे अनुसार राम्रो जागिर पाइने हुनाले यो वर्ग पनि धनीमा पर्दछन्, नेपाली समुदायमा ।

दोस्रो समुदाय, आधा नेपालमा र आधा अमेरिकामा मन हुन्छ । आवतजावत गर्छन् । यसो गर्दा कमाई त्यति हुँदैन । जसले केही यता सम्पत्ति जोड्ने गर्छन् भने सदैव आर्थिक कठिनाईको सामना गर्छन् । पैसाको संकटमा परि रहेका हुन्छन किनभने अमेरिका महँगो छ । मेहनत गरि कमाएता पनि सन्तुलन राख्नु पर्ने हुनाले त्यति कमाई नहुन सक्छ ।

तेस्रो वर्ग, अमेरिका नबस्ने । कुनै हालतमा कमाउ, नेपाल फर्क भन्ने मानसिकता लिएर अमेरिका छिरेका हुन्छन् । हुन् त प्रारम्भिक चरणमा नबस्ने भएपनि अन्त्यमा अधिकांश मानिसले निर्णय परिवर्तन गर्दछन् ।

उनीहरुलाई कसैको चासो हुँदैन । काम, काम र काम मात्र । कुनै दुनियाँसँग मतलब हुँदैन । नेपालमा ७ या ९ तला घर बनाउने र भाडा लगाएर या अन्य कुनै ब्यबसाय गरेर जीवन चलाउने उद्देश्य हुन्छ । बैशाख १२ गतेको भूकम्पपछि ७ तला र ९ तला भन्दा पनि १ तला बनाउनुपर्छ भन्ने सोचाई बदलिएको पनि हुनसक्छ । यिनीहरु सफल पनि हुन्छन् । खर्चलाई नियन्त्रण गर्छन र कतै कंचो पनि निकाल्दैनन् अनि पैसै पैसाको थुर्प्रो । पैसाको बोरा बोकेर नेपाल फर्कन्छन् ।

१८ घण्टासम्म दिन रात काम गर्छन् । अतिरिक्त काम गर्न पछि हट्दैनन् । अन्यमा खर्च नगरी केवल धन कमाउने तर्फ लाग्छन् । अमेरिकामा स्वास्थ्य बिमा चर्को हुनाले त्यो पनि गर्दैनन् किनभने देखा जाएगा भनेर दैनिकी कटाई रहेका हुन्छन् ।

उनीहरुको बस्ने शैली पनि फरक हुन्छ मिलेर या घर साहुको कुनै बैठक कोठा या सानो आश्रय लिएर थोरै पैसामा गुजारा चलाएका हुन्छन् । किनभने अस्थायी बसोबास गर्ने भन्ने मानसिकता हुन्छ । सुत्ने स्थान मात्र भयो भने उनीहरुलाई पुग्दछ । पूर्ण मितव्ययिता अपनाउँउछन् । कुखुराको डाँकमा हिँड्यो अनि मध्यरातमा घर फर्क्यो जस्तो जीवन हुन्छ । अझ ठूला ठूला महानगरमा २४ सै घण्टा जाग्ने शहर हुनाले काममा सम्झौता गर्दैनन् । र, अमेरिकन डलरको भाउ बढ्दै गएकोले निकै कमाई हुन्छ । र, अन्त्यमा स्वदेश करोडपति भै फर्कन्छन् । यस्ता काम गर्नेको थोरैको कागजात पनि हुँदैन । गैरकानुनी रुपमा अमेरिका बसेका हुन्छन् ।

तर, यिनै मानिस नराम्रो संकटमा फसे । सबै टाट भई शाहरुख़ ख़ानको ‘राजु बन गया जेन्टल म्यान’ जस्तै हुन्छन् ।

अमेरिका अब भाडा माझ्न मानिस आउँदैनन् । किनभने जता पनि नेपाली समुदाय भएकोले काम पाउने सम्भावना ज्यादा हुन्छ र नेपाली भएको नाताले बेरोजगार भै भौँतारिनु पर्दैन, नेपालीले सहयोग गर्छन् । २ दशक जस्तो अमेरिका छैन, अहिले । नेपालीहरु प्रशस्त ब्यबसायमा संलग्न छन् । राम्रो आर्थिक कमाई गरिरहेका छन् ।

अधिकांश नेपाली समुदायले नेपालमा भएको आफ्नो सम्पत्ति बेचबिखन गरेर व्यापार तथा अन्य काममा लगानी गर्ने गरेका छन् । उताको सम्पत्ति ल्याएर घर किन्ने पनि गरेका छन् ।

अमेरिकाको नागरिकता लिएपछि नेपालमा घर राख्न हुँदैन भनेर घरजम गरेर पनि बस्ने प्रवृति बढ्दैछ । अमेरिकामा पनि नेपालीहरु नेपालको तुलनामा धनाढ्य हुँदै गरेको अवस्था छ ।

एउटा ब्यबसाय गर्नेले राम्रो कमाई गर्दछ भने एउटा बाट २ वटा हुदै अन्य ब्यापार थप्दै कमाई बढ्दै गएको छ । नेपालीहरुको पसल या ग्यास स्टेसन ३० वटासम्म पनि चलाएर बसेका छन् । अमेरिकामा आवासीय घर निर्माण कम्पनी संचालन गरेर राम्रो कमाई गर्ने नेपालीहरु पनि छन् ।

अमेरिकामा कानुन कडा भएकोले गैरकानुनीबाट कमाउने भन्ने प्रश्न नै हुँदैन । गैरकानुनी काम गरी चोरी गर्ने र अन्य अपराध गतिविधिमा पनि नेपालीहरु परेका छन् । यसो गरेकालाई स्वदेश फर्काइएको छ ।

अर्को तरिकाले नेपालीहरुले कमाउने भनेको घर भाडा या बहालमा दिने प्रचलन बढ्दै गएको छ । अमेरिकाका बिभिन्न राज्यहरुमा घर किनी आफूलाई चाहिने मात्र कोठा राखी सबै भाडा दिँदा कमाई हुने हुन्छ ।

यसरी पनि पैसा कमाउने जुक्ति भएको छ । र, हुँदैछ । एउटा घरमा राति सुत्ने सम्झौतामा पनि घर मुलिले कमाउने गर्छन् । ५ वटा कोठामा आफूलाई एउटा कोठा राखी सबै भाडामा दिने पनि देखिएको छ । जसको कारण घरको किस्ता भन्दा डेढ गुणा पैसा कमाई हुन्छ । अनि पैसैपैसा । यसले गर्दा घरको एक सदस्यले काम पनि नगर्नु पर्ने देखिएको छ । यसरी बहालमा दिँदा असमझदारी हुने र गोपनियता भंग हुने हुन्छ । सामान्य असमझदारी भएता पनि मुद्रा आर्जन हुने हुनाले त्यसले कुनै असर पनि नहुने हुन्छ ।

अनि हरेक बर्ष नेपाल आवतजावत गर्ने मध्ये यिनै वर्ग हुन्छन । र, ७ तला पनि बनाउने यिनै हुन्छन् । अनि अमेरिकामा बस्नेले धेरै कमाउँछन भन्ने नेपालमा बस्नेले ठान्दछन् ।

अमेरिकामा सबैभन्दा महँगो घरको किस्ता ३० बर्षसम्म तिर्दा तिर्दा मानिस कायल हुन्छ । साधारण जीवनयापन गर्नेले घरको किस्ता र अन्य तिर्दातिर्दै जीवन जाने हुन्छ, अमेरिकामा ।

घरभाडामा पनि दिने ३ प्रकारमा नेपाली समुदाय छन् । पहिलो, घर किन्ने, बहालमा दिने र कमाउने । त्यसमा पनि कति वटा कोठा लगाउने भन्ने हुन्छ । आफ्नो लागि बाहेक सबै कोठा बहालमा लगाउने । यसले गर्दा कमाई राम्रो हुन्छ । किनभने दम्पत्ति नै काममा जाने भएकोले अझ कमाई राम्रो हुन्छ । तर, परिवारको सदस्यलाई अल्छी पनि बनाई दिन्छ । किन काम गर्ने भन्नेतर्फ जान्छ । घरको किस्ता भन्दा ज्यादा आम्दानी आउने भएकोले लोग्ने या स्वास्नीमा एकले काम नगर्ने बिषयमा पनि आपसमा विवाद, झगडा तथा मनोमालिन्य हुने देखिएको छ ।

दोस्रो, घरको तल्लो तला मात्र भाडामा दिने प्रचलन भएकोले त्यसो गरि कमाइ पनि गरिने हुन्छ । जसको कारण घर किस्त्तामा निकै बोझ कम हुन्छ र कमाइ बचत हुन्छ । यसो गरे नेपालमा घर ठडिन्छ ।

तेस्रो वर्गमा घर भाडामा दिने सुन्ने बित्तिकै कन्सिरी तात्छ । घर भाडा दिने बिषयमा पूर्ण खिलाफ हुन्छन किनभने उनीहरु गोपनियता चाहन्छन । घर भाडामा लगाई सकेपछि गोपनियता भंग हुने कुरामा भयभित हुन्छन । उनीहरु थोरै कमाई भएपनि चित्त बुझाउँछन् । सन्तोषम परम सुखम भन्ने सिद्धान्तमा बाँचेका हुन्छन । यस्ता वर्गका मानिसले नेपालमा घर बनाउन सक्ने सम्भावना कम हुन्छ । र, नेपाल आवतजावत गर्न कठिन हुन्छ । यी वर्गले किस्ता तथा अन्य तिर्दै जीवन घसेटी रहेका हुन्छन् ।

अमेरिकामा अधिकांश नेपालीहरु पहिलो पुस्ताका छन् भने अब दोस्रो पुस्ताका नेपालीले राम्रो कमाई अवश्य राम्रो गर्ने छन् भन्ने विश्वास लिइएको छ । यसरी पनि कमाई हुने हुनाले सपनाको संसार अमेरिकामा बसी नेपालमा ७ तला घर बनाउने हो या कस्तो बनाउने हो ? त्यो अमेरिकामा बस्ने नेपाली समुदायले सोच्ने कुरा हो । केवल नेपाली समुदायले मात्र हैन् अन्य देशका समुदायले पनि बहालमा घर लगाई कमाई खाने भाँडो बनाएका छन् ।

जसले जे जति कमाई गरे पनि कसैको टाउको नदुखोस् । किनभने परिवारको आफनै समस्या हुन्छ । अर्काको कमाईको रिस र डाहा गर्नु दरिद्र मानसिकता हुन्छ । आफ्नो समस्या अर्काले आएर समाधान नगर्ने हुनाले जे भयो ठीकै भयो, जे हुन्छ ठीकै होला भन्ने सम्झनु नै उत्तम । तैँ चुप मैँ चुप । अमेरिकामा अर्काको चासो नगर्नु भन्ने भएकोले नजाने गाउँको बाटै नसोध्नु नै बेस ।

 

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार