शरीरको उचाईले मानिसको व्याक्तित्व्मा धेरै प्रभाव पार्ने गर्छ । धेरै मानिसहरु जसको उचाई कम हुन्छ, उनीहरुलाई दैनिक जीवनमा आइपर्ने विभिन्न कार्य तथा क्रियाकलापहरुमा समस्या आईपर्ने गर्दछ जसले गर्दा उनीहरुमा उचाई कमको कारणले मानसिक तनाव समेत सृजना हुने गर्छ । मानिसको उचाई कम हुनु वा नबढ्नुमा धेरै किसिमका समस्या तथा कारणहरु हुन सक्छ । यदि बढ्दो उमेरको बेला उपयुक्त प्रोटिन र न्युटिशनको अभाव भएमा शरिरको विकास नहुने चिकित्सकहरु बताउँछन् । उचाईमा वंशाणुगत गुणले पनि प्रभाव पार्ने गर्दछ । यदि आफ्नो अग्रज रगत (पुर्खाहरु) नै होचा प्रकृतिका छन् भने पनि सन्तानहरु त्यस्तै बनोटका हुन गर्छन् ।
उचाई बढ्नुमा ‘ह्युमन ग्रोथ हार्मोन’ को मुख्य भूमिका रहेको हुन्छ । यसलाई अर्को भाषामा ‘एचजीएच’ पनि भनिन्छ । छोरा मान्छेको उचाई बढ्ने अधिकतम उमेर २२-२५ वर्ष सम्म रहेको हुन्छ भने छोरी मान्छेको २०-२३ वर्ष सम्म हुन गर्छ । उचाई कम हुनेहरुले यदि खानपिनमा राम्रो ध्यान दिने हो भने केहि हदसम्म भएपनि शरीरको उचाई बढाउँन सकिने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुको अनुसार उचाई बढाउन यी ५ पौष्टिक तत्वहरुको उपयोग गर्न सकिन्छ:
१.क्याल्शियम:
क्याल्शियम शरीरलाई नभई नहुने एक अति-आवश्यक खनिज हो । क्याल्शियमले शरीरको हाडलाई बलियो बनाउँछ । उचाई बढाउनमा क्याल्शियमको एकदमै महत्वपूर्ण भूमिका रहेको हुन्छ । दुध, दही र मासुको हाड्मा क्याल्श्यिमको मात्रा अत्यधिक रुपमा पाइन्छ ।
२. प्रोटिन:
उचाई बढाउन शरीरमा प्रोटिनको प्रमुख भुमिका रहेको हुन्छ । प्रोटिनले शरीरको कोषतन्तुलाई बलियो बनाउने र वृद्धिविकास गर्ने गर्दछ । तसर्थ, शरिरको विकास र उचाई बढाउन प्रोटिनको आवश्यक पर्दछ । माछा,मासु, दुध,बदाम, अण्डा, भटमास, दाल लगायतका गेडागुडीहरुमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ ।
३.खनिज:
खनिजले हाम्रो शरीरको रक्तप्रवाहमा सकारात्मक प्रभाव पार्नुका साथै हाडको वृद्धिविकासमा धेरै सहयोग पुर्याउने गर्दछ । त्यसैले उचाई बढाउनका निम्ति खनिज धेरै लाभदायक हुन्छ । झिङ्गे माछा, गाजर, बदाम, केरा, अंगुर, च्याउँमा प्रचुर मात्रामा खनिज पाइन्छ ।
४.भिटामिन’डि’:
भिटामिन ‘डि’ ले पनि हाडलाई बलियो बनाउनुको साथै यसले हाडको उचित वृद्धि र विकास गर्न गर्दछ । त्यसैले उचाई बढाउनमा भिटामिन ‘डि’ को पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । चीज, च्याउँ, स्वास्थ माछामासु तथा फलफुलहरु, दुध, दहि, बदाम, अण्डामा भिटामिन ‘डि’ प्रशस्त मात्रामा पाईन्छ । बिहानैको सुर्यको किरण भिटामिन ‘डि’ को एकदमै राम्रो स्रोत हो, त्यसैले बिहानिपख सुर्यको किरणमा बस्ने गर्नुपर्छ ।
५.भिटामिन’ए’:
हामीले आफ्नो खानामा भिटामिन ‘ए’ को प्रयोग नियमित रुपमा प्रयोग गर्नुपर्दछ । भिटामिन ए ले हाम्रो शरीरको अंगहरुलाई क्रियाशील बनाउन महत्वपुर्ण भूमिका खेल्दछ । यसले शरीरको वृद्धि विकासमा धेरै फाईदा पुर्याउने गर्छ । स्वच्छ हरियो सागसब्जी तथा फलफूलहरु भिटामिन ए को प्रमुख स्रोत हो ।
उचाई बढाउन हामीले गर्ने दैनिक क्रियाकलापहरुमा पनि राम्रो ध्यान पुर्याउनु पर्दछ । बिहानको समयमा शारीरिक व्यायम गर्ने, खेलकुद गर्ने गर्नुपर्छ । शरीर बोदो हुनेगरी धेरै बेरसम्म नबस्ने, सकारात्मक कुराहरु सोच्ने, हिड्डुल गर्दा शरीर जोशिलो र फुर्तिलो बनाउने गर्नुपर्छ । राति अबेरसम्म जाग्राम बस्नु पनि शारीरिक स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । त्यसैले समयमै सुत्ने र उठ्ने बानी बसाल्नु पर्छ ।
एजेन्सी ।
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







