तीव्र गतिको हावाहुरीले कञ्चनपुरमा केरा खेती नष्ट गरेको छ । बिहीबार साँझको हुरीले करिब सय हेक्टरमा लगाएको केरा खेतीमा क्षति पुगेको हो । सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा नोक्सान भएको छ । उक्त क्षेत्रमा ९० प्रतिशत केराका बोट ढलेका छन् ।

भीमदत्त नगरपालिका रबेलौरी नगरपालिकामा पनि ठूलो क्षति भएको छ । ‘जिल्लाभरिमा ५० प्रतिशत बढी केराका बिरुवा नष्ट भएका छन्,’ केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउदले भने, ‘करिब २ देखि ३ लाखसम्म केराका बिरुवा हावाहुरीले ढालेको छ ।’

साउदका अनुसार कृष्णपुरका अर्जुन जेठाराको २० बिघा, सुरेन्द्र चौधरीको ७ बिघा, विक्रम देउवाको ५ बिघाको केरा पूर्ण रूपमा नोक्सान भएको छ । एक/दुई बिघा नोक्सान हुने कृषकको संख्या पनि ठूलो छ ।

भीमदत्त नगरपालिकाको नौलाखेतमा पनि केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले ७ बिघामा लगाएको केरामध्ये ३० प्रतिशतभन्दा बढी नोक्सान भएको छ । करिब २ हजार केराका बोट ढलेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा पनि केरामा ठूलो क्षति भएको छ । अन्य ठाउँको तुलनामा दक्षिणी क्षेत्रमा भने कम क्षति भएको कृषकले बताए ।

‘कृष्णपुरमा केरामा ९० प्रतिशत क्षति भएको छ, यो क्षति अझै बढ्न सक्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहोराले भने, ‘अन्य क्षेत्रमा पनि ३० देखि ५० प्रतिशतसम्म नोक्सान भएको छ ।’ उनका अनुसार भीमदत्त नगरपालिकामा ५० प्रतिशत र बेलौरी तथा पुनर्वास क्षेत्रमा ३० प्रतिशत हाराहारीमा केरा खेतीमा नोक्सान भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार