प्रधानमन्त्री केपी शर्मा ओली जुन ८ देखि युरोपको भ्रमणमा जाने कार्यक्रम रहेको छ । स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन, आइएलओको सम्मेलनमा सहभागी भएर जुन १० मा बेलायतको औपचारिक भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
बेलायती प्रधानमन्त्री टेरेसा मे को निमन्त्रणामा बेलायत आउन लागेका प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका बारेमा कुराकानी गर्नेछन् । यहाँस्थित नेपाली राजदुतावासका अनुसार प्रधानमन्त्री ओलीले जुन १० साँझ विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जुन ११ मा बेलायती प्रधानमन्त्री टेरेसा मे सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मे र ओलीबीचबको उक्र वार्ता द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुने बताइएको छ ।
बेलायतस्थित नेपाली दूतावासका प्रवक्ता एव् उपनियोग प्रमुख शरदराज आरणका अनुसार नेपाल–बेलायत ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै आपसी हित र सहकार्यलाई प्रगाढ बनाउने दिशामा वार्ता केन्द्रित हुनेछ ।
प्रधानमन्त्री ओलीले बेलायत सरकारका अन्य पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने तयारी भइरहेकोे छ । बेलायतस्थित नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले १२ जुनमा प्रधानमन्त्रीको सम्मानमा रिसेप्सन आयोजना गरेका छन् । त्यसका लागि दुताबासले बेलायतस्थित विभिन्न संघ संस्था, पत्रकारहरु र विशिष्ठ व्यक्तिहरुलाई निमन्त्रणा पठाइसकेको छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीले बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने जनाईएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्न लागेका हुन् । प्रम ओली जुन १२ मा फ्रान्स जाने कार्यक्रम रहेको छ ।
सीके राउत अक्सफोर्डको प्रमुख वक्ता
यसैबीच कुनैबेला स्वतन्त्र मधेशको आन्दोलन गरेर केहि समय अघिमात्र राजनीतक मुलधारमा आएका मधेशी नेता चन्द्र प्रकाश राउत उर्फ सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत जाने भएका छन् ।
समाचार स्रोतका अनुसार मानवअधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना जाने राउत अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।
बेलायतस्थित मधेशी समुदायले समेत राउतको सम्मान र एक अन्तरक्रिया कार्यक्रम गर्ने समाचार छ ।







