चितवन । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका थप चार जनालाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हिजो १०ः३० बजे मुख्य आरोपितका रूपमा चर्चामा आएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बिक र धुव्र चापागाई रिहा गरेको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आफै जमानत बसे पछि उनीहरु रिहा भएका हुन् । पक्राउ परेका १८ जनामध्य यसअघि १४ जनालाई हाजिरी जमानीमा पहिले नै छाडिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले पक्राउ परेका सबैलाई हाजिरी जमानीमा छाडिएको बताउनुभयो ।
चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको उहाँले जानकारी दिनुभयो । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनःनिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप सहज वातावरण बनाउन रिहा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
रिहा भए लगत्तै पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुनःनिर्माण गराउँने पनि जानकारी गराएका छन् । रंगशालाको बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले काम रोकेको छ ।janaboli
https://www.youtube.com/watch?v=6Fqezu8MVog







