
हामी जुन परिस्थितिमा बसेर हेरिरहेका छौँ, हामीलाई असाध्यै खुसी लागेको र एकदमै उत्साहित भएको कुरा के हो भने नेपालको राजनीतिक क्षेत्र, बौद्धिक जगत्, विभिन्न व्यवसायहरूमा संलग्न अगुवाहरू, साहित्यकार, कलाकारहरू, सबैको ठूलो शक्तिले नेकपामाथिको प्रतिबन्ध एकदमै पूर्वाग्रहपूर्ण रहेको भनिरहेको छ ।
हाम्रो पार्टी एकदम लोकप्रिय हुँदै गएको छ । प्रतिबन्ध लगाउनु गलत कदम हो भनेर जो विरोध गर्नुभएको छ र यो हटाउनुपर्छ भनेर आवाज उठाउनु भएको छ, यो धेरै नै राम्रो कुरा हो । त्यसैले हामी सबै जो राजनीतिक पार्टीका नेताहरू हुनुहुन्छ, बुद्धिजीवी हुनुहुन्छ, विभिन्न क्षेत्रमा काम गर्ने विश्लेषकहरूदेखि लिएर साहित्यकारहरू, कलाकारहरू हुनुहुन्छ उहाँहरूलाई हामी धेरैधेरै धन्यवाद दिन्छौँ ।
यसको सिलसिलामा हामी के देख्छौँ भने ऐतिहासिक पृष्ठभूमिसँग जोडेर हेर्दा केपी र प्रचण्डहरू असाध्यै ठूलो भ्रममा छन् । त्यो हुने नै हुन्न । टिक्ने नै सम्भावना छैन । यो कुरा हैन । सम्पूर्ण रूपले असफल हुँदै गएको यो सत्ता र यो सरकारले यो कदमबाट सफल हुने वा यो क्रान्तिको प्रक्रियालाई रोकौँला भन्ने कल्पनै नगरे हुन्छ । त्यो सम्भवै छैन । किनकि हामीले नेपालका प्रवृत्तिहरू, धाराहरु हेर्दा राणाहरूले फाँसी दिँदाखेरि पनि प्रजातान्त्रिक आन्दोलनको धारा दबेन नि, झन् विस्फोट भएर, ज्वालामुखी भएर बाहिर आयो । अन्ततः राणाहरू नै सिद्धिने स्थिति बन्यो । पञ्चायतले त्यस्तै ग¥यो । त्यो पनि सम्भव भएन । काङ्ग्रेस र एमालेहरू मिलेर हाम्राविरुद्ध, जनयुद्धविरुद्ध त्यही कदम चाले, त्यो पनि सफल भएन भने आज त झन् अगाडि बढेको समाज छ । नेपालीको चेतना त्योभन्दा धेरै माथि उठेको छ । त्यसपछि धेरै ज्ञान हासिल गरेको, स्वतन्त्रताको अधिकारलाई बुझेको समाज छ यहाँ । जबर्जस्ती तानाशाही कदम चालेर, फासिवादी कदम चालेर वलीले अहिले दमन गरेर हुन्छ भन्ने कुरा अहिले सोच्दै नसोचे हुन्छ । यो अगाडि बढिरहन्छ । यसको प्रमाण के हो भने अहिले प्रतिबन्धका विरुद्ध पाका नेताहरूदेखि लिएर, क्रान्तिकारी नेताहरूदेखि लिएर, स्वच्छ छवि भएका नेताहरूदेखि लिएर साहित्यकार र कलाकारसम्मले जुन आवाज उठान गर्नुभएको छ, यो प्रमाण हो । खतरा त छ तर उहाँहरूले त्यो खतरा मोलेर पनि आवाज उठाइरहनुभएको छ, यो स्वागतयोग्य कुरा हो ।
अब त्यो मात्रै होइन, अर्को एउटा सकारात्मक कुरा के हो भने स्वयम् सरकारी कम्युनिस्ट पार्टीभित्रकै धेरै नेताहरू, अधिकांश नेताहरू यो प्रतिबन्धको विपक्षमा हुनुन्छ । यो ठीक हो भन्ने पक्षमा हुनुहुन्न । यो पनि एकदमै राम्रो कुरा हो । उहाँहरूलाई हामीले एकदमै धन्यवाद दिनुपर्छ । किनकि यो हाम्रो मामिला होइन । आज हाम्रो नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । मान्छेले हेर्दा हुन् यो पार्टीमा । यो पार्टीको मामिलै होइन नि । यो त नेपालको, जनताको राजनीतिक आन्दोलन, त्योसँगै अधिकारको मामिला हो । त्यसलाई दमन गर्ने कुरा हामीसँग सम्बन्धित छैन । यो सम्पूर्ण नेपाली समाज, नागरिक, राज्य, यहाँका राजनीतिक शक्तिसँग सम्बन्धित कुरा हो । त्यसैले यो कुरा बुझेर प्रतिबन्धको विरोध भएको छ भन्ने हामी देख्छौँ । यो राम्रो कुरा हो । उहाँहरूले सायद राम्रो गर्नु पनि हुन्छ । हामीले भनेका पनि छौँ यो प्रतिबन्ध कानुनी दृष्टिले हेर्दा त अन्यायपूर्ण छँदैछ, राजनीतिक दृष्टिले पनि यो जनताको अधिकारको ठाडो हनन हो भन्ने कुरा हामीले भनेकै छौँ । त्यसपछि नैतिक ढङ्गले पनि आफूलाई कम्युनिस्ट हुँ भन्ने सरकारले प्रतिबन्ध लगाउने कुराले त ऊ पूरै बदनाम भयो नि ।
बरु काङ्ग्रेसले राजनीतिक स्वतन्त्रताको वकालत गर्ने, केपी र प्रचण्डहरूले प्रतिबन्धका पक्षमा वकालत गर्दै हिँड्ने, यो ठीक हो भन्दै हिँड्ने ! यो त हददर्जाको बेइमानी र अनैतिक कुरा भयो नि । त्यसैले मलाई के लाग्छ भने त्यहाँ पनि यो विरोध भइरहेको छ । त्यो पनि राम्रो कुरा हो । त्यही पार्टीभित्रका वरिष्ठ नेताहरूले, हिजो हामीसँगै सहकार्य गरेका थुप्रै हाम्रा साथीहरूले पनि त्यसको प्रतिरोध गरिरहनुभएको छ । त्यो राम्रो कुरा हो ।







