काठमाडौं । आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जनाएपछि बैठक स्थगित भएको छ । कांग्रेसको विरोधका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोधमा हिजो माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भर्त्सना गर्दै त्यस घटनाबारे गृहमन्त्रीको जवाफ पनि माग गरेको छ ।

गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

त्यसपछि सचिवालयले २८ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरी सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएको छ । सूचनामा विशेष कारणले बैठक बस्न नसकेको बताइएको छ ।

सूचनामा, ‘आज मिति २०७६ साल जेठ २७ गते सोमबार १५ मिनेटपछि बस्ने गरि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा

नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुखज्यूले अर्को बैठक २०७६ साल जेठ २८ गते मंगलबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा। सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

https://www.youtube.com/watch?v=6Fqezu8MVog

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार