लन्डन – इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय क्रिकेट विश्वकपअन्तर्गत अहिले वेष्ट इन्डिज र दक्षिण अफ्रिका भिडिरहेका छन्। वर्षाले खेल रोकिनुअघि दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर २९ रन जोडेको छ।
दुवै विकेट सेल्डन कट्रेलले लिए। दक्षिण अफ्रिकाले ११ रन जोड्दा हासिम अमलालाई क्याच आउट गराएका कट्रेलले दोस्रो विकेटका रुपमा आइदेन मक्रमलाई पवेलियन पठाए। यी फास्ट बलरले यसपटक पनि त्यही गरिरहेका छन् जुन हरेकपटक विकेट लिएपछि गर्छन्। अर्थात ब्याट्सम्यानलाई आउट गरेपछि उनले सलुट हाने पवेलियनतर्फ फर्कँदै।
२९ वर्षीय कट्रेलको यो स्टाइलले विश्व क्रिकेटमा उनलाई चिनाउन सजिलो भइरहेको छ। आँखिर विकेट लिएपछि किन सलुट हान्छन् कट्रेल ? यसको कारण विशेष छ। कट्रेल जमैकाका आर्मी हुन्। सेनाको स्टाइलमा उनी आफ्नो खुसी व्यक्त गर्छन् ।
सन् २०१४ मा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कट्रेलले त्यसको एक वर्षपछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक खेल्ने मौका पाएका थिए। सोही वर्ष आयोजित एकदिवशीय विश्वकपमा कट्रेललाई समावेश गरिएपनि त्यसयता दुई वर्ष उनी वेष्ट इन्डिजको टिमबाहिर रहे।
गत वर्ष क्यानडामा आयोजित ग्लोबल टीट्वेन्टीमा कट्रेल सर्वाधिक विकेट लिने बलर बनेका थिए।








