रुपन्देहीमा एक व्यवसायी धारिलो हतियार प्रहारबाट घाइते भएका छन्।
सैनामैना नगरपालिकाको मुर्गियामा बुटवल उपमहानगरपालिका १२ बेलबास घर भई सैनामैना ३ सुनगाभा चोकमा बस्दै आएका १८ वर्षका विक्रम जिसीले सैनामैना ३ का ५५ वर्षका विष्णु पटवामाथि धारिलो हतियार प्रहार गरेका थिए।
जिसीको आक्रमणपछि घाइते भएका पटवाको पाखुरामा चोट लागेको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याईएको छ।
मुर्गियामा सोमबारे हाटबजारमा व्यवसाय गर्ने पटवाको पसलबाट जिसीले आफुखुशी रुमाल निकालेर प्रयोग गरेपछि विवाद भएको थियो।
विवादका क्रममा जिसीले धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिए।
जिसीले नशालु पदार्थ प्रयोग गरेको पाइएको र उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुटवल पठाएको उनले जानकारी दिए।







