२१ औं शताब्दिको दोस्रो दशक सुरू हुँदै गर्दा कर्णेल मुअम्मर गद्दाफीको समय समाप्त भइसकेको थियो । सन् २०११ सम्म उनी पुरानो फिल्मको पात्र जस्तै भइसकेका थिए, जसलाई कसैले पनि दोस्रो पटक हेर्न नै चाहन्न । गद्दाफी शासन सत्तामा आउँदा भियतनाम युद्ध चलिरहेको थियो भने मानिसले चन्द्रमामा पाइला टेकिसकेका थिए । र रिचर्ड निक्सन अमेरिकाका राष्ट्रपति थिए ।

त्यो समयदेखि गद्दाफीले संसार त्याग्दासम्म अमेरिकाले सात राष्ट्रपति र ब्रिटेनले आठ प्रधानमन्त्री देखिसकेको थियो । गद्दाफी सधैँ आफ्नो तुलना ब्रिटेनकी महारानीसँग गर्दथे । लीबियामा विद्रोह सुरू हुँदा गद्दाफीले भाषणका क्रममा भनेका थिए, ‘‘यदि ब्रिटेनकी महारानी ५० भन्दा बढी वर्षसम्म र थाईल्याण्डका राजा ६८ वर्षसम्म राज गर्न सक्छन् भने म किन नसक्नु ?’’

गद्दाफीले लीबियामा ४२ वर्षसम्म शासन गरे । कुनै समयमा अत्यन्तै आकर्षक व्यक्तित्वका धनी गद्दाफीले १९६९ मा लीबियाका बादशाह इदरीसको शासनसत्तालाई रक्तहीन सैनिक विद्रोहबाट ‘तख्ता पलटा’ गरेका थिए । त्यो समयमा उनी मात्र २७ वर्षका थिए ।

त्यो समयमा त्रिपोलीमा रहेका अशर शम्सी भन्छन्, ‘‘म गहिरो निद्रामा थिएँ । मेरी बहिनी मलाई निद्राबाट व्युझाउँदै भनिन्– उठ्नुस, उठ्नुस्, सैनिक विद्रोह भयो । मैले रेडियो खोले । त्यसमा देशभक्तिको गीत बजिरहेका थिए । र ठूलो स्वरमा नाराहरु लगाइँदै थिए । मैले कपडा लगाए र बाहिर गए ।’’

‘‘जब सिटी सेन्टर पुग्दा मानिसहरु सडकमा भीड लगाएर बसेका थिए । उनीहरु लीबिया र क्रान्तिका पक्षमा नारा लगाइरहेका थिए । शासन सत्ता कसको हातमा गयो भन्ने बारेमा कसैलाई जानकारी थिएन । म पनि के भइरहेको छ भन्नेबारे जान्न उत्सुक थिएँ ।’’

विद्रोहको सात दिनपछि भने आफ्नो नाम

सत्तामाथि कब्जा जमाएको एक हप्तापछि मानिसहरुले गद्दाफी उक्त सैनिक विद्रोहका नेता थिए भन्ने बारेमा थाहा पाए । राष्ट्रका नाममा आफ्नो पहिलो भाषणमा उनले भने, ‘‘मैले सत्ता परिवर्तन गरेर परिवर्तन र शुद्धीकरणको तपाईंहरुको मागको जवाफ दिएको छु । बादशाहले देश बाहिर रहने कुरामा सहमति जनाइसकेका छन् । धेरै मानिसहरुले रोकिएको र सामन्ती राजनीतिक व्यवस्थापछि चलेको ताजा हावालाई जोडतोडका साथ स्वागत गरेका छन् ।’’

आफ्नो सुरक्षाप्रतिको सनक

गद्दाफीले सुरुवातमा आफूलाई व्यक्ति पूजाको घोर विरोधीका रुपमा पेश गरे । तर, समय बित्दै जाँदा उनी तानाशाह बन्दै गए र आफ्नो सुरक्षाप्रति उनको सनक खतरनाक हदसम्म बढ्दै गयो । गद्दाफीको जीवनी लेखेका डेविड ब्लंडी र एण्ड्रयु लिसेटले आफ्नो पुस्तक ‘गद्दाफी एण्ड द लीबियन रिभोल्यूशन’ मा लेखेका छन्, ‘‘गद्दाफीले पहिलो पटक सत्ता सम्हाल्दा त्रिपोलीमा एक पुरानो ‘फोक्स भैगन’ मा घुम्दथे । उनी पत्नीका साथ स्थानीय सुपर मार्केटमा आफैँ सामान खरिद गर्न जान्थे । तर, विस्तारै सबै परिवर्तन हुन लाग्यो ।’’

‘‘जब उनी ‘अजीजीया ब्यारेक्स’ बाट निस्कन्थे उनीसँग हतियारधारी सवार कारको लाम दुई अलग–अलग दिशामा दौडिन्थे । एकमा उनी आफैँ हुन्थे भने अर्कोलाई आफ्ना विरोधीलाई झुक्याउन प्रयोग गरिन्थ्यो । उनी हवाई जहाजबाट कतै जानुपर्दा एक साथ दुईवटा जहाजले उडान भर्ने गर्दथे । उनी चढ्ने जहाजले गद्दाफीलाई उडाउनु अघि दुई घण्टा उडान भर्नु पर्दथ्यो ।

‘‘त्यसपछि मात्रै उनी जहाजमा चढ्दथे । ताकि यदि उक्त विमानमा कुनै बम राखिएको छ भने पनि गद्धाफी बस्नु अगावै विष्फोट होस् । एकपटक उनले ट्यूनिशियालाई आफू कारबाट आइरहेको सन्देश पठाए । त्यहाँको पूरै मन्त्रिमण्डल उनको स्वागतका लागि सीमा क्षेत्रमा पुग्यो । पछि थाहा भयो कि सुरक्षाका कारण गद्दाफी विमान चढेर ट्यूनिस पुगिसकेका थिए ।’’

‘‘जब उनी सवार विमान अवतरण हुनु अगाडि विमानस्थलको कन्ट्रोल रूमले विमानमा सवार व्यक्तिका बारेमा सोधपुछ गर्दा पाइलटले गद्दाफीको नाम नलिएरै भन्यो, “हाम्रा विमानमा एक अति महत्वपूर्ण व्यक्ति हुनुहुन्छ ।’’

हात मिलाउनु अघि पञ्जा लगाउँथे

आफ्नो सुरक्षाप्रति गद्दाफीको सनकका बारेमा अनेक समाचारहरु बाहिर आउन लागे । लिंडसी हिल्समले आप्mनो पुस्तक ‘सेण्ड स्टर्म–  लीबिया इन द टाइम अफ रिभोल्यूशन’ मा लेखेकी छिन्, ‘‘२००९ मा अमेरिकी राजदूत जीन क्रेंट्जले एक डिपलोम्याटिक केबिलमा गद्दाफीकी यूक्रेनियन नर्स गेलीना कोलोत्निस्कामाथि उनको निर्भरताका जिकिर गरेका थिए । गेलीनालाई गद्दाफीकी प्रेमिका भनिन्थ्यो ।

गेलीनाले गद्दाफीले छुने हरेक बस्तु ‘स्टेरेलाइज्ड’ (किटाणुरहित) गरिएको छ कि छैन भन्ने बारेमा सुनिश्चित गर्दथिन् । गद्दाफीको कुर्सीमा पनि कीटाणुनाशक छर्किने गरिन्थ्यो र उनको माइक्रोफोनलाई पनि ‘स्टेरेलाइज्ड’ गरिन्थ्यो । गद्दाफी विदेश जाँदा आफूसँगै लगिएको तन्ना ओछ्याएरमात्रै सुत्ने गर्दथे । एक पटक उनले अरबका एक जना नेतासँग हात मिलाउनु अघि सेतो रंगको पञ्जा लगाएका थिए । ताकि उनको हातमा कुनै संक्रमण नहोस् ।

लाकरबी विस्फोटमा गद्दाफीको संलग्नता
२१ डिसेमबर १९८८ मा फ्रैंकफर्टबाट डिट्राएट जाने जहाज स्कटल्याण्डको लाकरबीको आकाशमा विष्फोट भएर एक सय ४३ मानिसहरु मारिएपछि गद्दाफी विश्वभरमै बदनाम भए । अनुसन्धानका क्रममा विष्फोटमा लीबियाको हात रहेको पुष्टि भएको थियो । अमेरिकी राष्ट्रपति रोनल्ड रीगन गद्दाफीसँग यति रिसाए कि उनले गद्दाफीलाई ‘पागल कुकुर’ सम्म भने ।

विरोधीलाई सार्वजनिक स्थलमै फाँसी

गद्दाफीले आफ्ना विरोधीहरुलाई सार्वजनिक स्थलमै फाँसीमा झुण्ड्याएका थिए । त्यो समयमा त्रिपोलीमा रहने बाशेश शेखावीले बीबीसीसँगको कुराकानीमा भने, ‘‘एक दिन जब हामी विश्वविद्यालय पुग्यौं, मुख्यद्वारमै चार जनालाई फाँसीमा झुण्ड्याइएको थियो ।”  उनका अनुसार विश्वविद्यालयको प्रवेशद्वारमा राखिएको गद्दाफीको ठूलो तस्बिरमा केही विद्यार्थीहरुले कालो पोतेको आक्रोशमा ति विद्यार्थीहरुलाई सार्वजनिक स्थलमा झुण्ड्याइएको थियो ।

यासर अराफातसँग थियो खास दुश्मनी 

गद्दाफीले मिस्रका राष्ट्रपति जमाल अब्दुल नासिरलाई आफ्नो ‘हीरो’ मान्दथे । तर, उनी पछि मिस्रका राष्ट्रपति बनेका अनवर सादात र प्यालेष्टाइनी नेता यासर अराफातसँग उनको आक्रोश रहन्थ्यो ।  यासेर अराफातका लागि गद्दाफीको मनमा कुनै इज्जत एिन । अराफातले विदेशमा रहेका उनका विरोधीहरुलाई आफ्ना मानिसहरु नदिएका कारण गद्दाफी रिसाएका थिए ।
बीबीसी 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार