
रुस– र उत्तर कोरियाबीच दीर्घकालीन सैन्य सहकार्यका लागि सहमति भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ। दुवै देशबीच सन् २०२४ मा हस्ताक्षर भएको सैन्य सन्धिअनुसार एकअर्कामाथि आक्रमण भए ढिलाइ नगरी सैन्य सहयोग गर्ने व्यवस्था रहेको छ।
रुसी रक्षामन्त्री आन्द्रे बेलौसोभका अनुसार दुई देशबीच सन् २०२७ देखि २०३१ सम्मका लागि सैन्य सहकार्यको योजना तयार पार्ने तयारी भइरहेको छ। सोही क्रममा रुसी अधिकारीहरू उत्तर कोरियाको राजधानी प्योङयाङमा उच्चस्तरीय भेटघाटमा संलग्न छन्।
युक्रेनसँगको युद्धमा उत्तर कोरियाले रुसलाई सैनिक, क्षेप्यास्त्र र अन्य युद्ध सामग्री उपलब्ध गराउँदै आएको बताइएको छ। बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, सैन्य प्रविधि, खाद्यान्न तथा ऊर्जा प्राप्त गरिरहेको विश्लेषण गरिएको छ।
दक्षिण कोरियाली स्रोतका अनुसार युक्रेन युद्धमा संलग्न करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएका छन्। केही सैनिक पक्राउ परेका छन् भने अन्यलाई पक्राउ पर्नुभन्दा आत्महत्या गर्न निर्देशन दिइएको दाबी पनि सार्वजनिक भएको छ।
यस घटनाक्रमले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा चिन्ता थप बढाएको विश्लेषकहरूको भनाइ छ।







