सोमबारको प्रतिनिधिसभाको बैठकमा नेकपाकी सांसद एवं पूर्वमाओवादी नेतृ पम्फा भुसालले सरकारको जोडदार विरोध गरिन् । त्यसमा पनि उनले गृह प्रशासन र त्यसको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाइन् ।

सरकारको विरोध गर्न उनले गुठीसम्बन्धी विधेयकको विषयवस्तुदेखि आइतबार माइतीघर मण्डलामा गुठियारको प्रदर्शनमाथि दमन भएको भन्दै प्रहरी र गृह मन्त्री रामबहादुर थापाको आलोचना गरिन् ।

संसदमा सरकारको विरोध गर्नु प्रतिपक्षीको धर्म हो । प्रतिपक्षी कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरिरहेको थियो । उसले होहल्ला र नाराबाजी गरिरहेकै बेला सत्तापक्षको बेन्चबाट उठेर भुसालले सरकारमाथि आक्रमण गरेकी थिइन् । सुरुमा त कांग्रेस सांसद नै अलमलमा परे । आफ्नो विरोधका बीच भुसाललाई बोल्न दिएकोमा सभामुखसँग समेत वाद–प्रतिवाद गरे ।

तर, सभामुखले समेत भुसालले कांग्रेसलाई नै सहयोग गरिरहेको भन्दै बोल्न दिन आग्रह गरे । सभामुखको आग्रह अर्को आश्चर्यको विषय थियो । किनकी, तटस्थ भूमिकामा हुनुपर्ने सभामुख कृष्णबहादुर महराले कुन सांसद कसको पक्ष वा विपक्षमा बोल्दै छ भनेर किन भविष्यवाणी गरे ?

सभामुखले बोल्न दिइरहे । कांग्रेसले कान ठाडा पारेर सुनिरह्यो । जब नेकपाकै सांसद भुसालले सरकारको विरोध गरिरहिन्, अनि कांग्रेसले ताली बजायो ।

संसदको राज्य व्यवस्था समितिमा कर्मचारी भर्नाको विषयलाई लिएर सत्तारुढ नेकपामा दुई खेमा देखिएको थियो । त्यसमध्ये पूर्वएमाले र पूर्वमाओवादीबीच स्पष्ट रुपमा कित्ताकाट देखिएको थियो । पूर्वमाओवादीहरु लोकसेवाले खोलेको विज्ञापन रद्द गर्नुपर्ने पक्षमा थिए भने पूर्वएमालेहरु भर्ना अघि बढाउने पक्षमा । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पूर्वएमाले भएकाले पूर्वमाओवादी विपक्षमा गएका त होइनन् भन्ने प्रश्न त्यहाँ उठेको थियो ।

तर संसद बैठकमा ठीक उल्टो परिदृश्य देखियो । पूर्वमाओवादी खेमाकै मन्त्रीविरुद्ध त्यही खेमाका सांसदले संसदमा आगो बाल्नु र प्रतिपक्षीले ताली बजाउनु, सभामुखले कांग्रेसकै पक्षमा बोल्न लागेको भन्दै वातावरण बनाइदिनु आश्चर्यजनक छ । केही समययता प्रचण्डपक्षीय नेता तथा सांसदहरुले ओलीविरुद्ध घेराबन्दी बढाएका छन् । प्रधानमन्त्री ओलीले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै पार्टी र संसदमा मात्र होइन, सार्वजनिक मञ्चहरुमा समेत विरोध गर्ने नीति लिएका छन् ।

तर सँगै जनयुद्ध लडेका, माओवादी फुटाउँदासमेत प्रचण्डलाई छाडेर सँगै अलग्गिएका भुसाल किन थापाको विरुद्धमा खनिइन् भन्ने प्रश्न भने यतिञ्जेल निरुत्तरित छ । सामान्यतः सरकार जोसुकैको होस्, सार्वभौम सांसदले सरकारका कामकारवाहीमा प्रश्न उठाउन पाउँछ र उठाउनु पनि पर्छ । तर, गुठी विधेयक भूमि व्यवस्था मन्त्रालयले ल्याएको थियो ।

मन्त्री पद्मा अर्यालले सोही सदनमा जवाफ दिएकी पनि थिइन् । भुसालले मन्त्री अर्यालको भूमिकामाथि खासै टिप्पणी गरिनन् । बादलले नेतृत्व गरेको गृह प्रशासनको भूमिकालाई विशेष आलोचनाको तारो बनाइन् । यसको अन्तर्य बुझ्न अझै केही दिनका राजनीतिक घटनाक्रम नियाल्नुपर्ने भएको छ ।

पार्टीमा बादल ओली कित्तामा र भुसाल प्रचण्ड कित्तामा बाँडिएका हुन् भने आगामी परिदृश्य झनै रोचक हुनेछन् ।

warnanmedia

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार