सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ ।

झाडापखलाका कारण एकै गाउँका ५० जनाभन्दा बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा बिरामीको उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिए । बिरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरू छन् ।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखापरेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।

झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ भने केहीको स्थिति गम्भीर छ । गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिए ।

गम्भीर बिरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए ।

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=49s

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार