दक्षिणी चीनमा भारी वर्षा हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । त्यस्तै झण्डै ४० लाख मानिस फसेको अधिकारीहरूले बताएका छन् । वर्षाले १३५० घरमा क्षति पु्रयाउनुको साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ ।
अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । नौ वटा शहरमा बाढी पसेपछि जियाङ्ग्सी प्रान्तमा मात्रै डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार दक्षिण–पश्चिमी ग्वाङ्ग्सी प्रान्तमा २० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ।

मौसम पूर्वानुमान निकायका अधिकारीहरूका अनुसार बिहीवारसम्ममा ग्वाङ्ग्डुङ, सुच्वान र ताइवानमा वर्षा फैलिनेछ । वर्षाका कारण हुने सम्भावित पहिरोबाट सजग रहन पनि अधिकारीहरूले आग्रह गरेका छन् । विगतमा मुसलधारे वर्षाका कारण दक्षिणी चीनमा पहिरोहरू गएका दृष्टान्त छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण ४० लाख मान्छे प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ । ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ । मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ । एजेन्सी







