प्रेस स्वतन्त्रता र मर्यादाका बारेमा नेपालमा बहस चलिरहेको बेला भारतमा भने सनसनीपूर्ण घटना घटेको छ ।
भारतको उत्तर प्रदेशस्थित शामली जिल्लामा एकजना पत्रकारलाई कुटपीट र हिरासतमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरी थानेदार र कन्सटेबल निलम्बित भएका छन् ।
घटना शामली जिल्लाको हो । शामलीमा पटरीबाट बाहिरिएको रेल मालगाडीको समाचार रिपोर्टिङका लागि गएका एकजना पत्रकारमाथि प्रहरीले कुटपीट गरेका थिए । आरोपित जीआरपी एसएचओ राकेश कुमार र कन्सटेबल सन्जय पवारलाई निलम्बित गरिएको नवभारत टाइम्समा प्रकाशित समाचारमाउल्लेख छ । उनीहरुमाथि पत्रकार अमित शर्मामाथि दुव्र्यवहार र अमानवीय कृत्य गरेको आरोप छ। बुधबार जिल्लाका पत्रकारहरुले प्रदर्शन समेत गरेका थिए ।
पीडित पत्रकार अमित शर्माका अनुसार, पिटाई गरेपछि प्रहरीले उनीलाई हिरासतमा लिएर नांगो पार्दै मुखमा पिसाब फेरेका थिए । शर्माका अनुसार, सादा बर्दीमा रहेका प्रहरीले घटनास्थलमा नै उनको क्यामेरा खोसेका थिए ।
क्यामेरा तल खसेपछि उठाउन खोज्दा कुटपीट गरिएको थियो । करिब दुई सय मिटरसम्म पिट्दै लगेर हिरासतमा बन्दी बनाएको उनले बताए ।







