(नयाँदिल्ली) — दुर्घटनाको आठ दिनपछि भेटिएको भारतीय वायु सेनाको एन्टोनोभ एन ३२ विमानमा सवार सबैको मृत्यु भएको अधिकारीहरूले जनाएका थिए ।
विमानमा चालक दलका सदस्यसहित ८ सहित १३ जना थिए । वायु सेनाले बिहीबार ट्वीट गर्दै उद्धार टोली घटनास्थल पुगेलगत्तै जहाजका सबैको मृत्यु भएको पुष्टि गरेको हो ।
दुर्घटना भएको विमान रूसमा निर्मित दुई इन्जिन भएको ट्रबोप्राप एन्टोनोभ एन ३२ हो । उक्त विमान गत सोमबार भारतको पूर्वोत्तर राज्य असमको जोरहाटबाट चीनको सिमाना नजिकैको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको थियो । मध्याहृन १२ बजेर २५ मिनेटमा उडेको विमान ३५ मिनेटमै सम्पर्कविहीन भएको थियो ।
जहाज खोजीका लागि भारतीय सेनाले सबै संयन्त्र प्रयोग गरेको दाबी गरे पनि ८ दिनसम्म विमान र त्यसका यात्रुबारे कुनै सूचना प्राप्त भएको थिएन । सेनाले मंगलबार अरुणाचलको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइमा दुर्घटनाग्रस्त जहाजको भग्नावेश भेटेको थियो । तर दुर्घटनाग्रस्त जहाजका १३ को अवस्थाबारे वायु सेनाले केही जनाएको थिएन ।
बिहीबार उद्धार टोली घटनास्थलमै पुगेपछि मात्र वायु सेनाले जहाजमा रहेका सबैको मृत्यु भएको पुष्टि गरेको हो । खराब मौसमका कारण बाटो बिराउँदा जहाज दुर्घटनामा परेको आशंका गरिएको छ । भारतीय सेनाले उक्त विमान ढुवानीका लागि प्रयोग गर्दै आएको थियो ।
दुर्घटनामा नेपालकी मूलका २८ वर्षीय राजेश थापाको पनि मृत्यु भएको छ । लमजु पुर्ख्यौली घर भएका फ्लाइट लेफटनेन्ट राजेश ५ वर्षअघि भारतीय वायु सेनामा भर्ती भएका थिए । करिब २ वर्षकै उमेरमा हजुरआमा रमामाया थापाको साथ लाएर दिल्ली आएका राजेश यतै हुर्किए । दिल्लीको फरिदाबादमा बस्दै आएका राजेश पछिल्लो समय करिब ३ साता हजुरआमासँगै बिताएर उनी गत मे २७ मा ड्युटीमा फर्केका थिए ।
घटनाप्रति अरुणाचलका मुख्यमन्त्री पेमा खण्डुले दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै वायुसेनाका लडाकुको दुःखद क्षतिबाट आफू अत्यन्त मर्माहत भएको बताए ।







