आयरल्यान्डका जोन कोलिसन २६ वर्षको उमेरमा अर्बपतिको सूचीमा परेका छन् ।
जोन पैतृक सम्पत्तिले अर्बपति बनेका युवा होइनन् । आफ्नै मिहिनेतले यो सफलता चुमेका हुन् । अर्बपतिको नाम सार्वजनिक गर्ने फोर्ब्स पत्रिकाले उनलाई ‘युथ सेल्फ मेड बिलिनियर’ २०१७ को सूचीमा राखेको छ ।
यो उमेरमै जोन कसरी अर्बपति बने ? उनको सफलताको कथा केही गर्न चाहने संसारका ऊर्जावान् युवाका लागि पाठ बन्न सक्छ । उनी अनलाइन पेमेन्ट कम्पनी सञ्चालक हुन् । उनको कम्पनीको नाम हो ‘स्ट्रिप’ । सन् २०१० मा संस्थापक भएर यो कम्पनी सुरु गरेका हुन् । उनको यो कम्पनीले सात वर्षमा हिँड्दै गर्दा एक लाखभन्दा बढी कम्पनीलाई सेवा दिइरहेको छ।
जोनले सबैभन्दा पहिले आफ्ना दाइसँग मिलेर अक्टोमेटिक नामको स्टाटअफ सुरु गरेका थिए । जोनले यो कम्पनी सुरु गर्ने ‘आइडिया’ दक्षिण अफ्रिका भ्रमणका वेला प्राप्त गरेका थिए ।
उनले त्यो भ्रमण दाइ पेट्रिकसँग नै गरेका थिए । भ्रमणबाट फर्केलगत्तै कम्पनी स्थापना गरे, दाइकै सहयोगमा । अक्टोमेटिक कम्पनी सन् २००८ मा उनले ५ मिलियन अमेरिकी डलरमा बिक्री गरिदिए । उनी १९ वर्षको उमेरमा करोडपति भइसकेका थिए ।
हाल जोनको कम्पनी स्ट्रिपमा साढे पाँच सय व्यक्तिले रोजगारी पाएका छन् । उनको कम्पनीको कारोबार २५ देशमा फैलिएको छ । अहिले उनको कम्पनीको पैसाको हिसाब नेपालीमा निकाल्दा लगभग १० खर्ब रुपैयाँ बराबरको मूल्यांकन हुन्छ ।
‘पाइलट’ जोनको सोख हो । हवाईजहाज उँडाउने लाइसेन्स पनि छ, उनीसँग । एकान्त पहाडतिर डुल्न रुचाउने उनी प्रायः बिहानपख साइकल या मोटरसाइकल चढेर घुम्न निस्किन्छन् । – एजेन्सी
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=46s







