भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो प्रदेश आउनेहरुले बांग्ला भाषा बोल्नु पर्ने बताएकी छन् ।

शुक्रबार परगना जिल्लामा एक र्‍यालीलाई सम्बोधन गर्नै बंगालमा बिहारका मानिस आए पनि उनीहरुले बांग्ला भाषा बोल्नु पर्ने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘जब हामी दिल्ली जान्छौँ हिन्दी बोल्छौँ, पञ्जाब जाँदा पञ्जाबी बोल्नु पर्छ । तमिलनाडु जाँदा तमिल भाषा नआए पनि केही शब्द आउँछन्, त्यहि बोल्ने गर्छु । त्यसै गरेर बंगालमा आउँदा सबैले बांग्ला भाषा बोल्नु पर्छ ।’

बिहारीहरुले नै डाक्टरको आन्दोलनलाई भड्काएको बेनर्जीले आरोप लगाएकी छन् । तर भारतीय जनता पार्टी (भाजपा) का महासचिव कैलाश विजयवर्गीयले राज्यमा डाक्टर सुरक्षित नरहेको बताएका छन् ।

गएको सोमबार कोलकाताको सरकारी अस्पताल एनआरएस मेडिकल कलेजमा ७५ वर्षका मोहम्मद सईदको हृदयघातका कारण निधन भएको थियो । त्यसपछि उनका परिवारका सदस्य तथा छिमेकीले दुई आवसीय डाक्टरमाथि कुटपिट गरेका थिए ।

घटनामा संलग्नलाई पक्राउ गर्नु पर्ने र कानून अनुसार कारवाही गर्नु पर्ने मागसहित डाक्टरले आन्दोलन सुरु गरे । अहिले यसले राजनीतिक रुप लिएको छ ।

भारतीय जनता पार्टी (भाजपा) ले घटनामा राज्यको सत्तामा रहेको तृणमुल कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएको छ । तर मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बेनर्जीले भाजपाले सांप्रदायिक हिंसा फैलाउन चाहेको बताएकी छन् ।

पश्चिम बंगालबाट सुरु भएको डाक्टरको आन्दोलन दिल्लीसहित देशका अरु राज्यमा पनि पुगेको छ । सरकारी डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार