सुकेधारा र घट्टेकुलो विस्फोटका घाइते थप एक जनाको मृत्यु भएको छ । चाबहिलको ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठको शनिबार मृत्यु भएको हो । उनीसँगै विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उपचाररत श्रेष्ठको मृत्यु भएको अस्पतालले पुष्टि गरिसकेको छ। जेठ १२ अपराह्न झण्डै १० मिनेटको अन्तरमा अनामनगर र सुकेधारमा शक्तिशाली विस्फोट भएको थियो।
जसमा कालिकोटको सानीत्रिवेणी गाउँपालिका ९ घर भएका विभुराम भनिने दिपिन विक, दाङको बबई गाउँपालिका ३ घर भएका अन्दाजी वर्ष ३३ का गोकुल रानामगर र वर्ष ४४ का निरन्तर मल्ल र शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) इकाईका विधार्थी नेता प्रज्ज्वल शाहीको घटनाकै दिन मृत्यु भएको थियो। चारै जना प्रतिबन्धित चन्द समूहका कार्यकर्ता रहेको प्रहरीले पुष्टि गरेको छ।
अस्पतालमा उपचार गराइरहेको ४ घाइतेमध्ये ३ जना पनि चन्द समूहमा आबद्ध रहेको पुष्टि भइसकेको छ।







