रियो दे जेनेरियो – पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीका लागि सम्भवत: यो अन्तिम मौका हुने छ अर्जेन्टिनाका लागि उपाधि जित्ने,  जारी दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकामार्फत।

अर्जेन्टिनाले २६ वर्षयता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न नसकिरहेको पृष्ठभूमिमा जारी कोपा अमेरिकामा मेस्सीलाई लिएर अनेक अड्कल बाजी भइरहेका छन् : के मेस्सीले योपटक चाहीँ उपाधि जित्लान् त?  कि  विश्व क्लब फुटबलका यी कीर्तिमानी खेलाडीले सिनियर राष्ट्रिय टोलीका लागि उपाधि नजिति सन्यास लिनुपर्ने छ?

समकालीन विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि एकपछि अर्को उपाधि जितिरहेको अवस्थामा मेस्सीमाथि त्यो दबाब बढ्दो छ। उनी प्रश्नहरुले घेरिएका छन्। रोनाल्डोले यसैसाता मात्र आफ्नो खेल जीवनको दोस्रो अन्तर्राष्ट्रिय उपाधिका रुपमा युरोपियन नेशन्स लिगको उपाधि जितेका थिए।

त्यसअघि उनले सन् २०१६ मा युरोकपको उपाधि जितेका थिए। मेस्सी र रोनाल्डो समकालिन फुटबलका दुई निर्विवाद महान् खेलाडी हुन्। तर यीमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद लामो समयदेखि चलिरहेको छ। राष्ट्रिय टोलीका लागि उपाधि जित्न नसक्नुले मेस्सी यो बहसमा केही तल छन् भनि टिप्पणी गर्नेको समूह पनि ठुलो छ।

क्लब फुटबलमा मेस्सी नजोडिएको कुनै उपाधि छैन। धेरै कीर्तिमान उनकै नाममा छन्। तरपनि राष्ट्रिय टोलीको उपाधि खड्को मेस्सीलाई भारी बनिरहेको छ। सन् २००५ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका मेस्सीले त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा एक सय ३० खेल खेल्दै ६७ गोल गरेका छन्।

३१ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि उपाधि जित्ने केही राम्रा अवसर पाएपनि सफल हुन सकेन। सन् २०१५ र सन् २०१६ मा आयोजित कोपा अमेरिकाका पछिल्ला दुई संस्करणमा अर्जेन्टिना फाइनल पुगेपनि उपाधि भिडन्तमा चिलीसँग निराश भएको थियो। सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा पनि अर्जन्टिना फाइनलसम्म पुगेको थियो। तर जर्मनीसँग अतिरिक्त समयको अन्तिमतिर गोल ब्यहोर्दै उपाधि जित्न असफल भयो।

मेस्सीले सिनियर राष्ट्रिय टोलीका लागि खेल्न थालेयता त्यसअघि अर्जेन्टिना सन् २००७ को कोपा अमेरिकामा मात्र फाइनल पुगेको थियो। तर उपाधि भिडन्तमा ब्राजिलसँग ३-० गोलले निराश भएपछि खेलाडि जिवनको सुरुवातमै सिनियर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने मेस्सीको सपना पुरा भएन। तर मेस्सीमाथी दिनप्रतिदिन आशा बढ्दो थियो। सन् २००८ मा बेइजिङमा आयोजित ओलम्पिक खेलकुदमा अर्जेन्टिनाका लागि स्वर्ण पदक जितेपछि मेस्सीले सफलताका उचाईहरु नाप्दै गए केवल सिनियर राष्ट्रिय टोलीका लागि बाहेक।

मेस्सीका नाममा थुप्रै कीर्तिमान छन्। उनी एउटै क्लबका लागि सबैभन्दा बढी उपाधि जित्ने खेलाडी हुन्। मेस्सीले बार्सिलोनाका लागि १० ला लिगा, चार युरोपियन च्याम्पियन्स लिग र ६ कोपा डेल रेसहित ३४ उपाधि जितेका छन्। उनी ला लिगामा एकै सिजन र सर्बकालिन सर्वाधिक गोलकर्ता हुन्।

युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ। उनले सर्वाधिक ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन्। युरोपका ठुला प्रिमियर लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीलाई युरोपियन गोल्डेन बुट दिईने गरिएको छ। ला लिगा र कोपा अमेरिकामा सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान पनि मेस्सीकै नाममा रहेको छ।

सन् २०१५ को विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग पराजित भएपछि मेडल थापेर बाहिरिँदै मेस्सी।

मेस्सीले सिनियर राष्ट्रिय टोलीका लागि किन उपाधि जित्न सकिरहेका छैनन् भन्ने विषय अनुत्तरित नै छ। सन् २०१६ मा आयोजित कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि मेस्सीले सिनियर अन्तर्राष्ट्रिय फुटबलबाट सन्याश लिएका थिए। त्यतिबेला टाइब्रेकरको पहिलो प्रहारमै आफै चुकेका मेस्सी पराजयसँगै रुँदै बाहिरिएका थिए। मेस्सीले त्यतिबेला भनेका थिए- सायद राष्ट्रिय टोलिका लागि उपाधि जित्नु मेरो नाममा रहेन छ।

क्लब फुटबलको पछिल्लो सिजन मेस्सी उत्कृष्ट लयमा रहे। उनी घरेलु लिग र युरोपियन च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोलकर्ता बने। घरेलु लिगको उपाधि जितेको बार्सा युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा इङ्लिस क्लब लिभरपुलसँग पहिलो लेग ३-० गोलले जितेर पनि अगाडि बढ्न असफल भयो।

अर्जेन्टिनाले ४६ औँ कोपा अमेरिकाको यात्रा शनिबार राती थाल्दै छ चिलीसँग भिडेर। पछिल्ला दुई उपाधि भिडन्तमा चिलीसँग ब्यहोरेको हारको बदला लिन  अर्जेन्टिनालाई यो गतिलो अवसर हुने छ। यसको केन्द्रमा मेस्सी नै रहने छन्।

deshsanchar

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार