लन्डन – वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत श्रीलंकाविरुद्ध अहिले भईरहेको खेलमा प्रारम्भिक ब्याट्सम्यान एरोन फिन्चको सतक मदतमा अस्ट्रेलियाले ३ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ३४ रन जोड्यो।
प्रारम्भिक ब्याट्सम्यान एरोन फिन्चले एक सय ५३ रन बनाए। पुर्व कप्तान स्टिभन स्मिथले ७३ रन जोडे। फिन्च र स्मिथले तेस्रो विकेटका लागि एक सय ७३ रनको साझेदारी गरे। प्रतियोगितामा अस्ट्रेलियाका ओपनर ब्याट्सम्यानद्धय एरोन फिन्च र डेभिड वार्नर बेजोड लयमा देखिएका छन्। प्रतियोगितामा यी दुवै ब्याट्सम्यानले समान एक सतक र दुई अर्धसतक बनाएका छन्।
वार्नर २६ रनमा आउट भए। यी दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरे। फिन्चको यो १४ औँ एकदिवशीय सतक हो। एक सय १४ औँ एकदिवशीय खेल खेल्नेक्रममा उनले २३ अर्धसतक पनि बनाएका छन्।
उनले श्रीलंकाविरुद्ध एक सय ३२ बलमा पाँच छक्का र १५ चौका प्रहार गरे। जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा फिन्च पहिलो र वार्नर दोस्रो नम्बरमा छन्। फिन्चले ३ सय ४३ र वार्नरले २८१ रन बनाएका छन्।
चार खेलमा दुई सतक र एक अर्धसतक बनाएका इङ्ल्यान्डका जोए रुट २७९ रनसहित तेस्रोमा छन्। चार खेल खेलिसकेको अस्ट्रेलिया ६ अंकसहित तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको न्युजिल्यान्डको चार खेलबाट सात अंक छ। इङ्ल्यान्डको चार खेलबाट ६ अंक छ।







