विश्वकै सबैभन्दा लामो समुद्री पुल औपचारिक रूपमा केही समयअघिबाट प्रयोगमा आएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेसँगै त्यसको औपचारिक रूपमा प्रयोगमा आएको हो ।

सडकको पहुचसँगै सो पुल ५५ किलोमिटर फैलिएको छ । पुलले हङकङदेखि मकाउ र चीनको झाउहाई सहरलाई जोड्छ । पुल निर्माण गर्न २० अर्ब डलर खर्च लागेको छ । पुल निर्माण कार्यमा निकै ढिलाइ भएको थियो । पुल निर्माण गर्ने क्रममा १८ मजदुरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

के छ पुलको विशेषता ?

पुल भूकम्प र टाइफुनप्रतिरोधी छ । पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग गरिएको थियो । सो स्टिलबाट ६० वटासम्म इफेल टावर बन्छ । पुलको कुल लम्बाइमध्ये ३० किलोमिटर लम्बाइ पर्ल रिभर डेल्टा पार गर्छ । पुलको साढे ६ किलोमिटर खण्ड समुद्रमुनिको दुई कृत्रिम टापुको सुरुङ छ ।

जो–कोहीले पनि पुलमाथि ड्राइभ गर्न सक्छन्?

पुलमा जो कोहीले पनि ड्राइभ गर्न पाउँदैनन् । पुल पार गर्न चाहने चालकले विशेष अनुमति लिनुपर्छ । पुल तर्न कोटा प्रणाली छुट्याइएको छ । सबै सवारीसाधनले निश्चित दस्तुर तिर्नुपर्छ ।

पुलमा निजी सवारीसाधन पनि गुड्न पाउनेछन् । पुलमा रेलको लिंक छैन । सुरुमा अधिकारीहरूले दैनिक ९२ सय सवारीसाधनले पुल पार गर्ने अनुमान गरेका थिए । सो क्षेत्रमा नयाँ यातायात सञ्जाल निर्माण भएपछि पहिला अनुमान गरिएभन्दा केही कम सवारी गुड्ने अनुमान गरिएको छ ।

पुलबारे आममानिसको धारणा

बृहत् पुलसम्बन्धी परियोजनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । केही स्थानीय सञ्चार माध्यमहरूले सो पुललाई मृत्यु पुल भनेका छन् । पुल निर्माणका क्रममा १८ मजदुरले ज्यान गुमाएकाले पनि सर्वसाधारणले पुललाई मृत्युको संज्ञा दिएका हुन् । पुल निर्माणका क्रममा सयौँ मजदुर घाइते भएका छन् । पुलका कारण वातावरणीय प्रभावबारे पनि चासो बढेको छ । पुलले समुद्री क्षेत्रका मानिसहरूको जीवनमा गम्भीर हानि पार्ने वातावरणविद्हरूले बताउँदै आएका छन् ।

किन बनाइयो पुल?

हङकङ मकाउलगायत दक्षिणी चीनका नौ सहरलाई समेटेर तयार गर्न लागिएको ग्रेटर बे एरिया बनाउने चिनियाँ योजनाको एउटा अंशको रूपमा यो पुल निर्माण गरिएको हो । ग्रेटर बे एरियामा ६ करोड ८० लाख मानिस बसोवास गर्छन् । पुल निर्माणपूर्व झुहाईदेखि हङकङ पुग्न चार घन्टा लाग्नेमा नयाँ पुल बनेपछि ३० मिनेटमै यात्रा पूरा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार