लोकतन्त्रका लागि नागरिकको खवरदारी अभियान अन्तर्गत शनिबार पनि माइतीघर मण्डलामा पुगेर नागरिक समाजका प्रतिनिधिहरुले प्रदर्शन गरेका छन्।
उनीहरुले नागरिक स्वतन्त्रताको सम्मान,सुशासनको प्रत्याभूति, मिडिया काउन्सिल विधेयक फिर्ता, मानवअधिकार आयोगमाथि हस्तक्षप बन्द गर्न सरकारसँग माग गरेका छन्।
पछिल्लो समय उत्पन्न असंख्य समस्याको स्रोत केपी ओली नेतृत्वको सरकार भएको भन्दै उनीहरुले सरकारले आफ्ना काम सच्याउनु पर्ने माग राखेका हुन् ।
अभियानमा संलग्न वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गुठी, प्रेसमाथि सरकारले हमला गरेको र भ्रष्टचारलाई मौलाउन दिएको बताए ।
उनले सबै समस्या समाधानका लागि यो सरकारलाई नागरिकले हटाउनुको विकल्प नभएको चेतावनी दिए ।
सरकार गलत बाटोमा जान लागेको र संविधानको मर्म विपरित काम गरेकाले आफुहरु सडकमा उत्रिन बाध्य भएको उनीहरुको भनाई छ ।
अभियानमा संलग्न भक्तबहादुर विश्वकर्माले उत्पिडित वर्गलाई झनै बेवास्ता गर्दै सरकारले कामकारवाही अघि बढाएको बताए।
अभियानमा संलग्न गोपाल शाह सरकार माक्र्सवाद दर्शनबाट भन्दा फाँसिवादतर्फ उन्मुख भएको बताउँछन्।
अभियान्ताहरुले सरकारको गतिविधिको विरोध नभई खवरदारी गर्न भेला भएको बताएका छन्। अभियानमा संलग्न दिलुप्रसाद घिमिरेले आक्रोशित हुँदै अहिले चुप लाग्ने समय नभएको बताए ।







