आत्मविश्वास घरको धारामा आउने पानीजस्तै हो। कहाँबाट वा कसरी आउँछ ?सबै जानकारी नहुनसक्छ। तर धारामा पानी नआउँदा साह्रै समस्या हुन्छ। धारामा पानी नआएको दिनजस्तै आत्मविश्वासको कमीले स्वास्थ्य र जीवनशैलीमा नराम्रो प्रभाव पर्दछ।
‘कन्फिडेन्स’ के हो ?
दैनिक संवादमा आत्मविश्वास र आत्मसम्मान एउटै जस्तो सुनिन्छ। यसले कमैमात्र प्रचलनमा रहेको ‘सेल्फ–एफिकेसी’लाई ओझेलमा पार्दछ। तर, मनोविज्ञानले प्रत्येक शब्दलाई विशिष्ट परिभाषा दिएको छ।
-सेल्फ–एफिकेसी : अल्बर्ट बान्डुरा मनोचिकित्सक हुन्। कुनै कार्य विशेष पूरा गर्ने स्वयंको क्षमतामा स्वयंको विश्वास नै ‘सेल्फ–एफिकेसी’ भएको उनी बताउँछन्। खाना पकाउन वा कुनै परियोजना पूरा गर्न सक्षम भएको विश्वास भए त्यो ‘सेल्फ–एफिकेसी’ हो। न्युन‘सेल्फ–एफिकेसी’ भएका मानिसलाई कुनै काम विशेषमा सफल हुने विश्वास नभए मेहनत गर्ने प्रयास गर्दैनन्। यसले असफलताको सम्भावना बढाउँछ।
– आत्मविश्वास (सेल्फ–कम्फिडेन्स) : कोही व्यक्तिले कुनै लक्ष्य प्राप्त गर्ने सम्भावना कति छ भन्ने सामान्य दृष्टिकोण नै आत्मविश्वास भएको डा. बान्डुरा बताउँछन्। यस्तो क्षमता अतितको अनुभवमा आधारित हुन्छ। पियानो बजाउने अभ्यास गरे, पियानो बजाउने क्षमतामा व्यक्तिको आत्मविश्वास बढ्छ।
कुनै सामाजिक समूहले व्यक्तिलाई कति सहजै स्वीकार गर्छ भन्ने सवालमा पनि यो लागु हुन्छ। व्यक्तिको अभिरूचिलाई लिएर कसैले हेलाहोचो गरेको भए, त्यसबारे अरूलाई बताउने सम्भावना पनि घटेर जान्छ। आत्मविश्वास र ‘सेल्फ–एफिकेसी’ दुवैको जरा अनुभव हो तर आत्मविश्वास अलि बढी आत्मपरक हुन्छ।
-आत्मसम्मान (सेल्फ–एस्टिम) : आत्मसम्मान र आत्मविश्वास भिन्न हुन्। धेरैलाई दुवैको अर्थ एउटै भएको भ्रम छ। आत्मसम्मान भनेको स्वयंको समग्र मुल्य–महत्वमाथि भएको विश्वास हो। ‘म असल व्यक्ति हुँ’ जस्ता वृहत अभिव्यक्ति यो कित्तामा पर्छन्। मास्लोको आवश्यकता सम्बन्धी ‘हायरार्की’मा आत्मसम्मान एउटा तह हो। आत्मविश्वासमा आएको सुधारले आत्मसम्मान बढाउन योगदान दिन्छ।
यी अवधारणा एक–अर्कासँग मिसिएका छन्। प्रत्येक अवधारणाको सीमारेखाबारे मनोचिकित्सकहरूको भिन्न तर्क र विश्लेषण छ। उदाहरणका लागि ः नयाँ खेल खेल्ने तरिका सिक्न स्वयं सक्षम भएकोमा स्वयंको आत्मविश्वास उच्च हुनसक्छ। तर ‘सेल्फ–एफिकेसी’को अभावमा सुरूमै राम्रो प्रदर्शन गर्ने विश्वास नहुनसक्छ। त्यसैगरी व्यक्तिलाई असल व्यक्ति र प्रेमको योग्य भएको विश्वास हुनसक्छ तर खाना पकाउने सवालमा आत्मविश्वास शुन्य हुनसक्छ।
उच्च आत्मविश्वासले सुधार ल्याउने सम्भावना बढ्छ
कुनै काममा आफू कति पोख्त छु भन्ने स्वयंको विश्वास नै आत्मविश्वास हो। यो वास्तविक सीपको मापन होइन। उसो भए आफूलाई विश्वास गर्नुको के महत्व ?
‘करिज्मा अन कमान्ड’ नामक पुस्तकका लेखक तथा सोही नामको युट्युब च्यानलका संस्थापक चार्ली हुपर्टका अनुसार आत्मविश्वासले आफूलाई राम्रो अनुभव गराउने मात्रै नभएर जीवनमा वास्तविक सुधार ल्याउने जोखिम मोल्न पनि सहयोग गर्दछ।
‘आन्तरिक रूपमा वास्तविक आत्मविश्वासले बढी सकारात्मक सोंच, खुशी र सहनशीलता दिनेछ,’ हुपर्टले भने,‘बाह्य रूपमा उच्च आत्मविश्वासले जोखिम मोल्ने शक्ति दिन्छ जसको बढी लाभसँग प्रत्यक्ष सहसम्बन्ध छ। अक्सफोर्ड ह्यान्डबुक अफ पोजिटिभ साइकोलोजी अनुसार ‘व्यक्तिमा आत्मविश्वासको कमी भए कुनै कार्य हुने छैन। त्यसैले आत्मविश्वासको अभावलाई कहिलेकाँही अपांगता निम्त्याउने शंका पनि भनिन्छ। शंकाले कुनै काम सुरू हुनु अघि वा भइरहेको बेला गरिएका प्रयासमा हानि पुर्याउँछ।’
आवेदन दिए रोजेको काम पाइन्छ भन्ने विश्वास भए, जतिसुकै थोरै सम्भावना होस्, काम पाउने सम्भावना हुन्छ। काम पाउने विश्वास भएन र आवेदन पनि नदिए काम नपाउने ग्यारेन्टी छ। व्यक्तिले गर्ने काममा दक्ष बनाउने कुनै जादु होइन आत्मविश्वास ! तर व्यक्तिको लक्ष्य पूरा गर्नलाई आवश्यक जोखिम उठाउन यसले तयार बनाउँछ।
आत्मविश्वास कसरी बढाउने
आत्मविश्वास बढाउनलाई स्वयंबारे स्वयंको विश्वास परिवर्तन गर्नुपर्ने भए केही समय लाग्नेछ। ऐनामा हेरेर प्रत्येक दिन ‘म राम्रो छु, स्मार्ट छु, मलाई अरूले मनपराउँछन्’ भन्न सकिन्छ। यसले हानि पुग्दैन। तर, योभन्दा बढी व्यवहारिक र प्रभावकारी उपाय पनि छन्।
स्वयंसँग ‘हाइपर अनेस्ट’ हुने
स्वयंसँग ‘हाइपर अनेस्ट’ वा अत्यन्तै इमान्दार हुनु आत्मविश्वास बढाउने साधारण र दैनिक अभ्यास भएको हुपर्ट बताउँछन्। ‘उदाहरणका लागि, मानौं, कसैले तपाईंलाई कसरी रमाइलो गर्नुहुन्छ वा जीविकोपार्जनका लागि के गर्नुहुन्छ भनेर सोध्यो,’ उनले भने,‘जिब्रो टोक्ने वा केही लुकाएजस्तो अनुभव भए–नभएको ध्यान दिनुहोस्। त्यस्तो काम रोक्ने वा त्यसलाई स्वीकारेर स्वामित्व लिनुपर्ने संकेत हो त्यो।’
यसको अर्थ भेटेजति सबैलाई आफ्नो व्यक्तित्व सबै खोल्नुपर्छ भन्ने होइन। अध्ययन सम्बन्धी अभिरूचि भए उस्तै रूचि भएका साथीभाइसँग बाँड्न सकिन्छ। काममा कामको मात्रै कुरा गर्न सकिन्छ। तर मनको कुरा खोल्न कोही साथी बनाउन सकिन्छ। ‘अरूसँग आफ्नो व्यक्तित्वका अंशहरू लुकाउन छोडे, आफ्नो व्यक्तित्वमाथि बढी आत्मविश्वास पलाउँछ,’ हुपर्टले भने।
व्यायाम गर्ने
धेरै जसो मानिस तौल घटाउन वा शारीरिक सुगठनका लागि व्यायाम गर्छन्। तर यसले आत्मविश्वास बढाउन पनि सहयोग गर्नसक्छ। व्यायामले ‘मुड’ बनाउने अमेरिकन साइकोलोजिकल एसोसिएसनले टिप्पणी गरेको छ। नियमित उपचार र ‘थेरापी’ सँगै यसले उदासिनता र चिन्ता व्यवस्थापन गर्न समेत सहयोग गर्दछ। नियमित व्यायाम गरे आत्मविश्वास पनि बढ्छ।
नियमित व्यायाम गर्नलाई प्रतिबद्धता आवश्यक हुन्छ। त्यो प्रतिबद्धता कायम राख्नु आफैंमा एउटा उपलब्धि हो। नयाँ स्वस्थ व्यवहारले व्यक्तिको आत्मविश्वास मात्रै बढाउँदैन, दीर्घकालीन रूपमा शरिर र स्वास्थ्यमा सुधार पनि ल्याउँछ।
असहजताको सामना गर्ने
आफ्नो ‘कम्फोर्ट जोन’भन्दा बाहिर निस्कनु असहज हुन्छ। ‘धेरैजसो मानिसलाई असहज बनाउने विविध परिस्थितीमा सहज अनुभव गर्नसक्नु नै वास्तविक आत्मविश्वास हो,’ हुपर्टले भने,‘त्यसैले कम्फोर्ट जोन दैनिक तन्काए चाँडै नै एउटा वृहत्तर कम्फोर्ट जोनमा प्रवेश गरिन्छ र जस्तोसुकै परिस्थितीमा पनि अप्ठ्यारो अनुभव हुँदैन।’
यसका लागि चुनौतीपूर्ण परिवर्तन गर्नुपर्ने हुनसक्छ, जस्तै तर्किएर हिड्नुपर्ने व्यक्तिको सामना गर्न सँगै काम गर्ने आदि। यसमा सानातिना काम पनि पर्नसक्छन्, जस्तै लजालु व्यक्तिले नयाँ व्यक्तिसँग संवाद सुरू गर्नु वा नयाँ परिकार खानु।
नयाँ लुक
पहिरनले व्यक्तिलाई अरूलेर स्वयंले आफूलाई हेर्ने दृष्टिकोणमा प्रभाव पार्दछ। भिन्न प्रकारका पहिरनले भिन्न तरिकाले साेंच्न वा व्यवहार गर्न हौस्याउँछ। एउटा अध्ययनमा अन्यभन्दा सेतो ‘ल्याब कोट’ लगाउने सहभागीले बढी ध्यान दिएको नर्थवेस्टर्न युनिभर्सिटीको केलोग स्कूल अफ म्यानेजमेन्टका प्राध्यापक डा. एडम डि. ग्यालिन्स्कीले पत्ता लगाए। अर्काे शब्दमा, चिकित्सकजस्तो पहिरन लगाउँदा उनीहरू पनि चिकित्सकझैं व्यवहार गर्ने देखिए।
‘इम्पोस्टर सिन्ड्रोम’लाई चुनौती दिने
व्यक्तिको उपलब्धिको महत्व नभएको र जालीकपटी भनेर अरूले थाहा पाउँछन् भनेर विश्वास दिलाउने मानसिक किरा नै ‘इम्पोस्टर सिन्ड्रोम’ हो। सफलताभन्दा गल्ती स्मरण गर्न सजिलो हुने भएकाले यस्तो शंका मनमा सजिलै बस्छ। राम्रो काम गरेपछि समय–समयमा टिपोट गरेर राख्ने वा त्यसबारे समीक्षा गर्ने बानी बसाल्न सकिन्छ। क्षमता स्मरण गर्न सके आत्मविश्वास सजिलै बढ्छ।
आसन मिलाउने
पहिरनले जस्तै आसनले पनि व्यक्तित्वमा फरक पार्दछ। सुरूमा मुख्र्याइँजस्तो लागे पनि बलिया आसनले सोंच समायोजनमा सहयोग गर्न सक्छ। ढाड सिधा राखेर बस्ने सामान्य बानीले पनि व्यक्तिले गरेको काममा आत्मविश्वास बढ्ने ओहायो स्टेट युनिभर्सिटीको अनुसन्धानले देखाएको छ।
अहंकारको पासोबाट जोगिने
आत्मविश्वास अभिव्यक्त हुन थालेपछि अहंकारको चिन्ता बढ्नु स्वाभाविक हो। तर अहंकार उन्मत्त आत्मविश्वास नभएको हुपर्टले बताए। ‘अहंकार उच्च आत्मविश्वासभन्दा पनि असुरक्षाको नतिजा हो,’ उनले भने,‘आत्मविश्वास आत्मसन्तुष्टी हो भने अहंकारमा बाह्य मान्यता आवश्यक हुन्छ। त्यसैले अरूको मान्यता पाउनलाई डिंग हाँक्ने मानिस भेटिन्छ। साँचो आत्मविश्वास भएको व्यक्ति मुखर हुन्छ र आफ्नो लागि आवाज उठाउन सक्छ। उनीहरूको सुर अरूको नजरमा अहंकार हुँदैन। अहंकारविरूद्ध साँचो आत्मविश्वास विकास गर्नु नै सबैभन्दा राम्रो प्रतिरक्षा हो।’
https://youtu.be/9GTAOdfnWgE







