काठमाडौ । प्रदेश नम्बर २ ले कर्मचारीलाई प्रोत्साहनस्वरुप थप एक महिनाको तलब दिने भएको छ । २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गर्दै आफ्ना कर्मचारीलाई घुम्नका लागि १ महिनाको थप तलब उपलब्ध गराउने घोषणा गरे ।

‘प्रदेशमा कार्यरत राष्ट्र सेवक कर्मचारीको मनोवल उच्च राखी कार्य उत्प्रेरणा बढाउन तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न थप १ महिनाको तलब अतिरिक्त पारिश्रमिकको रुपमा प्रदान गर्ने व्यवस्था मिलाएको छु,’ बजेट बक्तव्यको १२२ नम्बर बुँदामा अर्थमन्त्री यादबले उल्लेख गरेका छन् ।

त्यसैगरी, अर्थमन्त्रीले कर्मचारीहरुलाई सेवाप्रति जिम्मेवार र जवाफदेही बनाई अपेक्षित नतिजा दिने र सेवामूलक संस्कृतिको विकास गरिने बजेटमा उल्लेख छ । ७ वटै प्रदेशले बजेट ल्याए पनि ३ नम्बर र २ नम्बर प्रदेशले मात्रै कर्मचारीलाई थप एक महिनाको तलब सुविधा दिने घोषणा गरेका हुन् ।

यता प्रदेश नं ३ लेपनि आफ्नो प्रदेशमा कार्यरत कर्मचारीलाई थप १ महिनाको तलब दिने भएको छ । प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७६ ०७७ को बजेट सार्वजानिक गर्दै यस्तो घोषणा गरे । यो प्रदेशले ‘प्रदेश निजामती सेवा पुरस्कार’को पनि व्यवस्था गरेको छ । कर्मचारी आकर्षित गर्न अतिरिक्त सुविधा र पुरस्कारको व्यवस्था गरिएको अर्थमन्त्री ढुंगेलले बताए ।

अर्थमन्त्रीको उक्त घोषणासँगै आगामी साउन १ गतेदेखि यो प्रदेशमा कायरत सरकारी कर्मचारीहरुले थप एक महिनाको तलब पाउने भएका छन् ।

‘आजका मितिसम्म प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही कम्तिमा तीन महिना प्रदेश सरकारमा सेवा अवधि व्यतित गरेका कर्मचारीलाई थप उत्प्रेरित तुल्याउन र अन्य कर्मचारीहरुलाई केन्द्रीय निकायमा आकर्षित गर्न उत्प्रेरणास्वरुप केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम प्रोत्साहनस्वरुप उपलब्ध गराउन बजेटको व्यवस्था मिलाएको छु ।’ बजेटको बुँदा नं १८४ मा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार