अदालतले रिहाको आदेश दिएलगत्तै विप्लव नेकपा कार्यकर्ता पुनः पक्राउ परेपछि पोखरामा बार आन्दोलित
अदालतले रिहाको आदेश दिएको व्यक्तिलाई बार परिसरबाट नै पक्राउ गरेको विरोधमा उच्च अदालत बार एशोसिएशन पोखरा आन्दोलित बनेको छ ।
पक्राउ परेका माओवादी विप्लवका कायकर्तालाई उच्च अदालत कास्कीले रिहा गर्न दिएको आदेश लगत्तै कास्की प्रहरीले बार कार्यालय भित्रैबाट पक्राउ गरेको भन्दै बार एशोसिएशन आन्दोलित बनेको हो ।आज कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एशोसियशन पोखराले अदालत परिसरबाट यस्तो कार्य भएकोमा चिन्ता ब्यक्त गरेको छ ।शान्तिपूर्ण र्याली प्रर्दशन गर्दै बार एशोसियशन पोखराका सदस्यहरुले प्रहरीको रबैयाविरुद्ध आन्दोलित भएको जनाएका छन । ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एशोसियशन पोखराका अध्यक्ष रोहित राज बास्तोलाले यहि जेठ ३० गते बार एशोसियशन पोखरा भित्रको कार्यालयबाट गैह्रकानुनी तवरले कास्की प्रहरीले बिप्लव समुहका ९ जनालाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
उनीहरुलाई जेठ २५ गते दिउँसोको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ उरी भन्ने स्थानमा रहेको आमा समुहको भवनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीलाई राज्यद्रोहको मुद्धा लगाइएको भएता पनि राज्यद्रोह बिरुद्ध यथेष्ठ प्रमाण नभेटिएको भन्दै न्यायाधीश तेजबहादुर कार्कीसहितको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्ने फैसला सुनाएको थियो ।
कास्की प्रहरीले रिहा भएका ९ जनालाई पुनः पक्राउ गर्न उच्च अदालत पोखराको बाहिर दिउँसैबाट घेरा हालेको थियो । पुनःपक्राउ पर्ने डरले बार एशोसियशन पोखराको कार्यालय भित्र रहेका बिप्लव कार्यकर्तालाइ प्रहरीले बल प्रयोग गरेर मध्यरातको समयमा बारको कार्यालय भित्रैबाट पक्राउ गरेर राति १ बजेको समयमा डाँडाको नाक प्रहरी चौकी पुर्याएको थियो ।
१८ जना कार्यकर्ता पक्राउ परेका मध्ये आज ८ जना रिहा भएका छन भने अन्य १० जना प्रहरी हिरासतमा रहेका छन ।