काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमणमा जाँदा नेपालमा लोकसेवा आयोगको विज्ञापन र गुठी विधेयकले खुबै चर्चा पाएको थियो । अहिले विधेयकका विषयमा विरोध तथा प्रदर्शन चर्कदै गएको छ । प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाउनु भएको छ ।
युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएसँगै ओलीले सोमबार विहानैदेखि गुठी विधेयकका विषयमा छलफल तथा परामर्श गर्नुभएको थियो । विधेयककका विषयमा संसद र सडक दुवै तिर चर्को आलोचना भइरहेको छ । सत्तापक्षका सांसदमा पनी दुई मत देखिएको छ । कतिले यो विधेयक पास हुनुपर्ने बताउँदै आएका छन भने कतिले फिर्ता लिनुको विकल्प नभएको स्पष्ट पार्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा पेश गरिएको गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाउनुभएको हो । प्रधानमन्त्री ओलीले आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याइने बताउनु भएको थियो ।
यस्तै, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद जुली कुमारी महतो सरकारले ल्याएको विवादित गुठी विधेयकले संस्कृतीहरुलाई संरक्षण गर्ने बताउनुभएको छ । सोमबार संसद्को शून्य समयमा बोल्दै सांसद महतोले उक्त कुरा बताउनु उल्लेख गर्नुभएको हो । उहाँले गुठी विधेयककोविरुद्ध काठमाडौंमा विरोध गर्नेहरुलाई एकपटक गुठी विधेयक पढ्न आग्रह पनि गर्नुभयो ।
उहाँले जनकपुरमा भएको गुठीको लुटतन्त्र आफुले हेर्दै आएको समेत्त बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुठीको नाममा भएको जमिन बेखबिखान एकपछि अर्को गरी व्यक्तिको नाममा पुगेका छन्, र हामीले प्रत्येक दिन हामीले पढेका छौँ पशुपतिदेखि स्वर्गद्वारीको जमिनहरू दिनप्रतिदिन विना कौडिको भाउमा व्यक्तिको नाममा गइरहेको छ ।’ यी सम्पदा संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै गुठी विधेयकको विरोध गर्नुको अर्थ नभएको स्पष्ट पार्नुभयो ।janaboli







